स्वास्थ्य र रक्षामन्त्रीलाई हिरासतमै लिएर अनुसन्धान गर्न भन्दै अख्तियारमा उजुरी

चैत्र २१, काठमाडौं । कोरोना स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितताका निष्पक्ष छानविन गरी दोषिलाई कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दोस्रो उजुरी परेको छ ।  कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खरिद गरेर समान ल्याउँदा भ्रष्टाचार भएको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत ओम्नी समुहका विरुद्ध अख्तियारमा दोस्रो उजुरी दर्ता भएको हो ।   

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कोरोना सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार भएको भन्दै बिहीबार आयोगमा उजुरी दर्ता गराएका हुन् । उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी समूहका सञ्चालकविरूद्ध अख्तियारमा उजुरी दिएको बताए ।   

दायर गरेको उजुरीमा भनिएको छ–‘कोरोना महामारीले विश्वव्यापी रूपमा गम्भीर संकटको रूप धारण गर्दै गएको अवस्थामा यस सम्बन्धमा पूर्ण रूपमा उदासीन भएर बस्नु नेपाल सरकार र यसका सम्बन्धित निकायका लागि गम्भीर लापरबाहीको विषय भएको हो, यसबाट सम्बन्धित निकायका पदाधिकारीको बदनियत प्रष्ट थियो ।’   

अभिवक्ता त्रिपाठीले विश्व स्वास्थ्य संगठनले महिनौं पहिले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको चेतावनी दिइसक्दा पनि नेपालले यस सम्बन्धमा आवश्यक पर्ने स्वास्थ्य उपकरणको आयाततर्फ कुनै चासो नदेखाउनुले पनि यो बदनियतलाई झन् पुष्टि गरेको दाबी गरेका छन् ।   

उनले न्यूनतम स्वास्थ्य उपकरणको अभावले चिकित्सकहरू बिरामीको परीक्षण गर्न नसक्ने एवं कोरोनाको टेष्टसमेत हुन नसक्ने जटिल मानवीय संकटको अवस्था देखिएको भन्दै रक्षामन्त्री र स्वास्थ्यमन्त्री समेत अन्य सबैलाई हिरासतमा लिएर कारबाही गर्न माग गरेका छन् । 

साथै त्रिपाठीले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद तथा सार्वजनिक दायित्वको दुरुपयोग गरी भ्रष्टाचारजन्य कसूर गरेकोले निजहरुले आफूविरुद्धको प्रमाणसमेत मेटाउन सक्ने भएकोले अख्तियार दुरुपयोग आयोग ऐनको दफा १६, भ्रष्टाचार निवारण ऐनको दफा ३१ बमोजिम तत्काल हिरासतमा लिई गम्भीर अनुसन्धान तथा तहकिकात गरी अख्तियार दुरुपयोग आयोग ऐनको दफा १८ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम मुद्दा समेत दायर गर्न माग गरेका छन् ।   

यसअघि पनि सोही आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध आयोगमा उजुरी परेको थियो । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार नै मन्त्री ढकालविरुद्ध उजुरी दिएका थिए । पौड्यालले बुधबार अख्तियारको वेबसाइटमा मन्त्री ढकाल विरुद्ध उजुरी दिएका थिए । 

कोरोना सामग्री खरिद प्रकरणमा अख्तियारले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग एक चरण जानकारी लिइसकेको र केही कागजात समेत प्राप्त गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले यस अघि नै बताइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *