विराटनगर महानगरपालिकाद्वारा २५ हजार परिवारलाई राहत वितरण


चैत्र २३, विराटनगर । विराटनगर महानगरपालिकाले २५ हजार परिवालाई राहत वितरण गरेको छ । विराटनगर महानगरपालिकमा रहेका दैनिक ज्यालामजदुरी गर्ने परिवारलाई आइतबारदेखि खाद्यान्न सामाग्री वितरण सुरु गरेको हो ।
कोरोना भाईरस सङक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लगडाउनका कारण दुई छाक टार्न धौ, धौ परेका परिवारका लागि महानगरपालिकाले खाद्यान्न वितरण गरेको बताएको छ ।
विराटनगर महानगरपालिकाले पहिलो चरणमा वडा नं. १ का १ हजार ४६, वडा नं. ३ का ३ सय १७ , वडा नं. ४ का १ हजार ३ सय ९ र वडा नं. १० का ३ सय ७७ गरी कुल ३ हजार ४९ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
प्रत्येक वडा कार्यालयहरुबाट गरिएको लगत सङकलन अनुसार विराटनगरमा कुल २५ हजार घरपरिवारले खाद्यान्न पाउने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।
प्रत्येक घरपरिवारलाई १२ किलो चामल, १ किलो रहरको दाल, आधा किलो मसुरको दाल, २ किलो आलु, आधा लिटर तोरीको तेल र एउटा साबुन वितरण गरिएको उनले बताए ।
यसैबिच सोमबार भने विराटनगरका वडा नं. ५, ७, १६ र १९ लगायतका वडाहरुमा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।
