सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने

काठमाडौं । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ ।

महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन् ।

सहभागीहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताए ।

उनीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गामै बसपार्क निर्माण गरिनुपर्ने र फिर्के खोलाको सीमा यकिन भइसकेकाले तत्काल ‘फिर्के कोरिडोर’ निर्माण शुरु गर्न सुझाव दिएका छन् । महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

कुनैपनि बहानामा सार्वजनिक जग्गा मिच्ने कार्य स्वीकार्य नभएको र यो अभियान निरन्तर जारी रहने उनले बताए । उनले महानगरभित्र रहेको सार्वजनिक जग्गाको एकीकृत लगत संकलन भइरहेको र केही समयभित्रै त्यसको विवरण सार्वजनिक गरिने जानकारी दिए ।

प्रारम्भिक अनुमानअनुसार पोखरामा वन क्षेत्रसहित झन्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको छ । उक्त जग्गाको यकिन लगत तयार भएपछि कसैले अतिक्रमण गरेको पाइएमा तत्काल खाली गर्न सूचित गरिने र अटेर गरेमा महानगरले कानुनी प्रक्रियाअनुसार आफैँ अतिक्रमण हटाउने आचार्यले स्पष्ट पारे ।

महानगरले ३३ वटै वडामा खेलमैदान र उद्यान (पार्क) निर्माण गर्ने योजना अघि सारेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरूको उचित व्यवस्थापन भएपछि मात्र व्यवस्थित बसपार्क निर्माणको काम शुरु हुने प्रमुख आचार्यको भनाइ छ ।

पोखरा–१ स्थित टुँडिखेलको जग्गा यकिन गर्ने कार्य पनि छिट्टै थालिने महानगरले जनाएको छ । सडक, राजकुलो, चौर र अन्य सार्वजनिक स्थल अतिक्रमण गर्नु कानून विपरीत हुने भन्दै कसैले त्यस्तो जग्गामा निजी संरचना वा व्यवसाय सञ्चालन गरेको भए आफैँ खाली गर्न महानगरले आह्वान गरेको छ ।

सार्वजनिक सुनुवाइमा स्थानीयले महानगरको सेवा प्रवाह र विकास निर्माणका विविध पक्षमा समेत जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =