रमाउँदै घर फर्किए विदेशी नागरिक

चैत्र १९, काठमाडौं । लकडाउनका कारण आफ्नो मुलुक फर्किन नपाएका विदेशी नागरिक आज (बुधबार) स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले नेपालमा रहेका अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई आज स्वदेश फिर्ता गरेको हो ।
लकडाउनका कारण नेपालमै अलपत्र परेका २ सय ६४ जना विदेशी नागरिकलाई नेपालका लागि अष्ट्रेलियन दूतावासको संयोजनमा बुधबार जहाज चार्टर गरी स्वदेश फिर्ता गरिएको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।
ती पर्यटक लिएर नेपाल एयरलाइन्सको विमान ब्रिसबेन जानेछ । स्वदेश फर्किन पाउँदा उनीहरु निकै खुशी देखिएका थिए ।

नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प हुने भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लैजाने क्रम जारी छ । तर नेपालले भने विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन चासो देखाएको छैन। विभिन्न सीमा नाकामा कैयन नेपालीहरु अलपत्र परेका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले मुलुकभर चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना संक्रमितको संख्या बढेपछि चैत्र २५ गतेसम्म लकडाउन लम्ब्याएको हो ।








