‘नेपाल सरकारलाई धेरै धन्यवाद’

चैत्र ३०, घोडाघोडी। आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए। उनीमा खुशीको कुनै सीमा थिएन। उनी भन्दै थिए, ‘हामी नेपालमा मजदुरी गरेर खाने भारतीय मानिसलाई यहाँको सरकारले हेर्‍यो, सरकारलाई धेरै-धेरै धन्यवाद।’ 

उनीजस्तै भारतको लखीमपुर घर भएका घोडाघोडी नगरपालिका–१ सुखडमा डेरा गरी बस्दै आएका गाउँगाउँमा गएर कपडा बेचेर गुजारा चलाउँदै आएका अजीज गुप्ताको परिवार पनि शनिबार राति पाउरोटी खाएर सुतेका थिए। उनीहरूलाई चिन्ता थियो आइतबारदेखि के खाने भनेर। जब बिहान भयो उनले सुने वडा कार्यालयले भारतीय मजदुरलाई खाद्यान्न दिँदैछ भनेर। उनीमा खुशीको सीमा रहेन, उनी बिहानै वडा कार्यालयले खाद्यान्न वितरण गर्ने ठाउँमा आए र खाद्यान्न लिएर फर्कँदै गर्दा उनले पनि नेपाल सरकार र वडा कार्यालयलाई अन्नदाता भएर आएको भनी धन्यवाद दिए। 

आइतबार घोडाघोडी नगरपालिका–१ वडा कार्यालयले विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण नेपालमा रहेका दैनिक ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेका भारतीय मजदुरलाई कार्यालयले खाद्यान्न वितरण गरेपछि यहाँ रहेका भारतीय मजदुरहरूले यस्तो प्रतिक्रिया दिएका हुन्। 

कैलालीको घोडाघोडी नगरपालिका–१ मा रही मजदुरी गरिखाने कोही पनि भोकै नबसुन् भन्ने उद्देश्यले भारतीय नागरिकलाई खाद्यान्न वितरण गरिएको वडाध्यक्ष मनराज शाहीले जानकारी दिए। ‘हामीले यसअघि वडाका २०० भन्दा बढी अतिविपन्न परिवारलाई राहत खाद्यान्न वितरण गर्यौँ र अहिले उहाँहरूलाई वितरण गर्यौँ,’ वडाध्यक्ष शाहीले भने। 

नेपाल–भारत सिमानामा कैयौँ नेपाली अलपत्र छन्। उनीहरुको व्यवस्थापन त्यहाँ भइरहेको हामीले सुनेका छौँ, त्यस्तै यहाँ रहेका भारतीय दाजुभाइको व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने लागेर आफूहरूले वडा कार्यालयमार्फत खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष शाहीले बताए। वडा कार्यालयले आइतबार मजदुरी गरी खाने २५ भारतीय परिवारलाई चामल, दाल, तेल, नुन, भटमासलगायतका खाद्यान्न सामग्री वितरण गरेको हो। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *