लकडाउनमा रक्तदान, २६५ पिन्ट रगत संकलन

वैशाख ५, धरान । देशभरि कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा पनि सुनसरी उद्योग बाणिज्य संघले बिहीबार बृहत् रक्तदान कार्यक्रमको आयोजना गरि २६५ पिन्ट रगत संकलन गरेको छ ।
लकडाउनको बेला सामाजिक दुरीलाई कायम गरि सरकारले भेला, औपचारिक कार्यक्रमहरु आयोजनामा रोक लगाए पनि धरानमा रगतको अभाव सिर्जना भएपछि संघले सो रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
संघको धरान–१ स्थित रहेको भवनको सभा हलभित्र व्यक्ति–व्यक्तिबीचको दुरी कायम राख्दै रक्तदान गरिएको थियो । रक्तदाताहरुको स्वस्फुर्त सहभागीता रहेको थियो ।

रक्तदान स्थल प्रवेश गर्नुअघि साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको थियो । रक्तदानका लागि नजिकबाट आऊनेलाई पैदल आउन सक्ने ब्यवस्था गरिएको र टाढाबाट आउन चाहानेहरु लाई टेम्पु र २ वटा एम्बुलेन्सको व्यवस्था समेत गरिएको थियो ।
अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित रेडक्रस सोसाइटी सुनसरीको रक्त सञ्चार सेवामा रगत अभाव भएकोले त्यस्को परिपूर्तिका लागि रक्तदान आयोजना भएको कार्यक्रम संयोजक प्रभाव खतिवडाले बताए । उनका अनुसार अहिलेको कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा रक्तदान आयोजना गर्न सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।








