स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिनुहोस्: विश्वप्रकाश शर्मा

वैशाख ७, काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले कोरोना संकटका बेला स्वास्थ्यकर्मीलाई हतोत्साहितगर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका हुन्। 

‘सम्माननीय प्रधानमन्त्री ज्यू, स्वास्थ्यकर्मीलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा लिनुहोस्,’ नेता शर्माले ट्विटरमा लेखेका छन्। शनिवार स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेको समाचारहरू सार्वजनिक भएका थिए। यसअघि पनि त्रिवि शिक्षण अस्पताललगायतमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेका घटनाहरू सार्वजनिक भएका थिए। उक्त घटनाहरूको सर्वत्र विरोध हुँदै आएको छ। 

कोरोना महामारीलाई ‘तेस्रो विश्वयुद्ध’को संज्ञा दिँदै प्रवक्ता शर्माले युद्धका कमाण्डर स्वास्थ्यकर्मी भएको पनि बताए। कमाण्डरले लड्ने र बोल्ने दुवै गर्ने उनको भनाइ रहेको छ। ‘आजको तेस्रो विश्वयुद्धका कमाण्डर स्वास्थ्यकर्मीहरु हुन्। कमाण्ड गर्नेले लड्छ पनि, बोल्छ पनि। कृषिबारे कृषिमन्त्रीले भन्दा कृषकले बढी जान्न सक्छन्। स्वास्थ्य बारे पनि सत्य यही हो,’ शर्माले भनेका छन्।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *