कोरोना संक्रमित भेटिएका तीन जिल्लामा र्यापिड टेष्ट सुरु

चैत्र २४, काठमाडौं। कोरोना संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोना संक्रमणको पहिचानका लागि आजबाट र्यापिड टेष्ट सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आजबाट कोरोना परीक्षणको र्यापिड टेष्ट सुरु गरिएको जानकारी दिइएको हो।
कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना परीक्षणको र्यापिड टेष्टका लागि आइतबार टोली पठाएको थियो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अहिले काठमाडौंमा १२ जना र काठमाडौंबाहिर ९५ जना आइसोलेसनमा राखिएका छन्। देशभर ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि उनले जानकारी दिएका छन्। त्यस्तै, उनले अहिले उपचार गराइरहेका ८ जनासँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको पनि बताइएको छ।
सरकारले चैत महिनामा उपत्यकाभित्र विदेशबाट आएका व्यक्तिको कोरोना भाइरस परीक्षण गर्ने समेत उनले बताए। यसका लागि उपत्यकाभित्रका सबै मेयर र वडा अध्यक्षसँग छलफल गरेर कार्यान्वयन गर्ने निर्णय भएको डा देवकोटाले बताए। यसका लागि रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालिन हुनेछन्।









