कोरोना आशंका गरिएका दुई व्यक्ति आइसोलेसन वार्डबाट भागे

चैत्र ३०, डडेल्धुरा। डडेल्धुरामा कोराना भाइरस (कोभिड-१९)को आशंकामा अस्पताल भर्ना गरिएका दुईजना भागेका छन्। उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेका हुन्। कोरोना संक्रमणको आशंकामा तीन दिनअघि उनीहरु डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए।   

सोही दिन उनीहरुको उनीहरुको नमूना संकलन गरेर कोरोना परीक्षणको लागि काठमाडौं पठाइएको थियो। तर शनिबार दिउँसो उनीहरु अस्पताललाई जानकारी नदिइ आइसोलेसन वार्डबाट निस्किएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। 

‘तीन दिन अघि उहाँहरूलाई हामीले आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँकोहरूको नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो,’  उनले भने, ‘दिउँसोसम्म यतै थिए, पछि हेर्दा अस्पतालमा भेटिएनन्।’ निमित्त मेसु विष्टका अनुसार दुबैजनाको स्वास्थ्य अवस्था सामान्य नै थियो।   

प्रहरी र गाउँपालिकाले उनीहरूको खोजी गरिरहेको छ। अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा-छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ।  उनीहरूको खोजी कार्य तीव्र पारेको अध्यक्ष भट्टले भनिन्, ‘घरमा पनि नआएकोले  खोज्दैछौँ।’   

उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *