पार्टी सचिवालय बैठक बोलाउन नारायणकाजी श्रेष्ठको अनुरोध

चैत २२, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक बोलाउन दुवै अध्यक्षलाई अनुरोध गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरूलाई अनुरोध गरेको छु। आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ, बस्नै पर्छ।’
यसअघि कोरोना परीक्षण र उपचारसम्बन्धी मेडिकल सामग्री खरिदमा अनियमितता भएको समाचारहरू प्रकाशित भएसँगै सरकारले सम्झौतामा उल्लेख भएअनुसारको सामान निर्धारित समयमा ल्याउन नसकेकाले ओम्नीसँगको सम्झौता रद्द गरिएको बताएको थियो। सम्झौता रद्द गरिएको भोलिपल्ट मेडिकल सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय बाहिरिएको थियो।

सरकारको उक्त निर्णय पनि विवादमा तानिएको छ। मेडिकल सामग्री खरिदको जिम्मा सेनालाई दिएको भन्दै सत्तारुढ दलभित्र र बाहिरबाट सरकारको आलोचना भइरहेको छ। यससँगै सीमा क्षेत्रमा अलपत्र नेपालीको उदारमा सरकारले पहल नगरेको प्रति पनि सवाल उठिरहेको छ। यी विषयहरूमा पार्टी भित्र पनि छलफलको आवश्यकता रहेकोले पार्टी सचिवालय बैठक छिटो बस्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइरहेको छ।
चीनबाट ल्याउने भनिएको मेडिकल सामग्री सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट सेनामार्फत खरिद गर्ने सरकारले निर्णय गरेपछि नेकपाभित्र पनि केही शीर्ष नेताहरूले आपत्ति जनाउँदै आएका छन्।








