कोरोनाको आशंकामा उपचारै नगरी वीपीले फर्काएको विरामीको मृत्यु, आफन्त भन्छन्,–‘डाक्टरको ब्यवहार देखेर धिक्कार्न मन लाग्यो !’

बैशाख ४, झापा । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक बृद्धा विरामीलाई कोरोनाको आशंकामा उपचारै नगरी फर्काइ दिएपछि उनको मृत्यु भएको छ । झापा बुधबारे–३ की ती बृद्धालाई चैत्र २१ गते शुक्रबार प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि ल्याउँदा उच्च ज्वरो थियो ।  

फोक्सो, कलेजोको रोगबाट ग्रसित ती ६९ वर्षिय बृद्धालाई प्रतिष्ठानको इमरजेन्सीमा कार्यरत डाक्टरहरुले उच्च ज्वरो आएको पाएपछि इमरजेन्सी भित्रै नहुली फर्काइदिएको उनका छोराले बताएका छन्  । ‘मेरो आमालाई कलेजो, फोक्सो र स्वासनलीको समस्या थियो, आसाम गुहावटी जाँदा त्यहीँको अस्पतालमा ५ दिन आइसियूमा राखेर घोपा क्याम्पको इमरजेन्सीमा ल्याएको थिँए । उनीहरुले कोरोना भएको हुनसक्ने भनेर इमरजेन्सी भित्र समेत नछिराई एम्बुलेन्सबाटै फकाईदिए ।’ बुधबारे–३ का शाह थरका ती छोराले भने ।   

उनले आसामको गुहावटीमा आमाको उपचारमा दैनिक ५० हजार खर्च भएपछि ५ दिनमै रेफर गरेर नेपाल ल्याइएको र त्यसपछि झापाका चार वटा अस्पतालहरुमा पुर्याउँदा पनि विरामीको रिपोर्ट नै नहेरी कोरोनाको आशंका गरेको बताए । ‘२१ गते विहान पानीटंकीको भारतीय सुरक्षाकर्मीले अस्पतालकै कागजात हेरेर नेपाल छिर्न दियो, काँकटभिट्टामा नेपाली सुरक्षाकर्मीले रोकेनन् तर, झापाका मनमोहन, कंकाई, विर्तासिटीले डाक्टर छैनन्, फेरी ज्वरो आएको रहेछ भन्दै रिपोर्ट नै नहेरी फर्काइदिए ।’ उनले भने–‘आमालाई झापाकै विर्तासिटी अस्पतालले एक घण्टा राखेपछि अन्तिममा ज्वरो आएको र डाक्टर पनि नभएको भन्दै उपचार गर्न मानेन ।’ 

२० घण्टा बढि भेन्टिलेटर बाहिर भएकाले आमाको शरीर तात्तिएको भएपनि ती अस्पतालहरुले कोरोना भएको आशंका गर्दा आमाले बेलैमा उपचार हुन नसकेको जिकिर गरे । ‘संसार आमा भन्दा ठूलो कोही हुँदैन । आमालाई अन्तिम अवस्थासम्म बचाउने प्रयास गर्छु भनेर अस्पताल चहार्दा डाक्टरहरुको सहयोग पाइन, म र मेरो आमालाई छिछिदुरदुर गरे । घोपा क्याम्पमा झन २ घण्टा इमरजेन्सी अगाडी एम्बुलेन्समा थन्काइदिए ।’ आमाको १३ दिने काजक्रिया सकेर बुधबार आँखाभरी आँसु पार्दै छोरा शाहले भने–‘डाक्टरहरुलाई भगवानको रुप भन्थे तर, मैले कुनैपनि डाक्टरमा भगवानको रुप देख्न सकिन । यहाँका डाक्टरलाई धिक्कार्न मन लाग्यो ।’ 

वीपी प्रतिष्ठानको इमरजेन्सी अघिल्तिर एम्बुलेन्समै विरामी राखेर गुहावटी अस्पतालबाट ल्याएको विरामीको रिपोर्ट देखाउँदा त्यहाँका डाक्टरहरुले बैठक बसेर मात्र भर्ना लिने नलिने जानकारी दिने भन्दै २ घण्टा उभ्याइदिएको उनको भनाई छ । ‘उनीहरुले २ घण्टापछि आएर उपचार हुन नसक्ने भने । त्यसपछि घर ल्याउँदा बेलुका आमा वित्नु भो ।’ उनले भने ।   

शाहले आमालाई समयमै भेन्टिलेटरमा राख्न पाएको भए केही समय बचाउन सकिने अवस्था रहेपनि डाक्टरहरुले रिक्स लिन नचाहेको जनाए । ‘आमा बाँच्नु हुन्थ्यो हुन्थेन आफ्नो ठाउँमा छ तर, कम्तिमा डाक्टरहरुले रिपोर्ट हेरेर बचाउने कोशिष त गर्नुपथ्र्यो । यहाँ त हामीलाई देखेर डाक्टरहरु नै भागे ।’ उनले घोपा क्याम्प (वीपी प्रतिष्ठान) को इमरजेन्सीमा कार्यरत डाक्टरहरुले अमानवीय ब्यवहार गरेको जिकिर गरे । ‘मैले यस पटक डाक्टरहरुको असली रुप देखें, हामीहरुले बाटोमा हिँड्दा फोहोरी सुंगुर देख्दा भगाउन जुन ब्यवहार गर्छौं हामीलाई इमरजेन्सीमा त्यस्तै ब्यवहार भयो ।’ शाहले भने ।   

इमरजेन्सी अगाडी एम्बुलेन्समा दुई घण्टा राखिसकेपछि प्रतिष्ठानको आइसोलेसनमा पठाएको उनले बताए । त्यहाँपनि उनीहरुलाई राम्रो ब्यवहार भएन । ‘आइसोलेसनमा झण्डै २ घण्टा एम्बुलेन्समै बस्यौं, डाक्टरहरुलाई सोध्दा मिटिङ बसिरहेका छौं, केही बेरमा थाहा दिउँला भने, तर २ घण्टापछि उपचार हुन सक्दैन भनेर फर्काइदिए ।’ शाहले प्रतिष्ठानका चिकित्सकले समयमै उपचार शुरु गरेको भए कम्तिमा आमा दुई चार दिन बाँच्न सक्ने अवस्था भएको बताउँदै भने ।   

शाहले आमालाई कोरोना भएको भए भारतीय सिमा सुरक्षा र त्यहाँको अस्पतालले नै नेपाल ल्याउन नदिने जिकिर गरे । २० दिन अगाडी गुहावटीको सरकारी अस्पतालमा भर्ना गरेर त्यहाँबाट पुनः प्राइभेट अस्पतालको आइसियूमा ५ दिन राखेर त्यहाँ उपचार खर्च महंगो भएपछि नेपाल ल्याइएको उनको भनाई छ । ‘गुहावटीको महंगो अस्पतालमा उपचार गर्न नसकेपछि त्यहाँबाट रेफर गरेर नेपाल ल्याइएको हो । कोरोना भएको भए त्याउनै दिँदैनथ्यो नी !’ उनले भने ।   

शाहले यदी आमालाई कोरोना भएको भए आफु र आफ्नो परिवारलाई अहिलेसम्म देखा पर्नुपर्ने दावि गर्दै भने–‘यदी त्यस्तो भएको थियो भने, म र मेरो परिवार १३ दिने क्रियामा बस्यौं, गुहावटीमा मेरो मामाको परिवारलाई पनि हुनुपर्ने ! खै अहिलेसम्म रुघामर्की समेत लागेको छैन ।’   

प्रतिष्ठान स्रोतका अनुसार चिकित्सकहरुको छलफलमा ती बृद्दालाई उपचार गर्न नसकिने निचोड निकालिएको छ । कोरोना र्यापिड रेस्पोन्स टीमका सदस्य समेत रहेका पल्मोनरी एण्ड क्रिटिकल्ली केयरका एशोसिएट प्रोफेसर डा. दिब्यराज मिश्रले भर्नागर्न नमानेपछि ती विरामीलाई फिर्ता पठाइएको हो । ‘ती बृद्धालाई उच्च ज्वरो आएको तथा ट्राभल्स हिस्ट्री समेत रहेकोले डा. मिश्रले उपचार गर्न नसकिने भनेपछि भर्ना गरिएन ।’ स्रोत भन्छ । डा. मिश्रले इमरजेन्सी अगाडी ज्वरो, निमोनिया, कलेजो तथा फोक्सोको विरामी आएको थाहा पाएपछि इमरजेन्सीका डाक्टरहरुलाई नै भित्र नलैजान सुझाव दिएको स्रोतको दावि छ ।   

यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्रवक्ताले भने ती महिलाको अवस्था क्रिटिकल भएकोले उपचार गर्न नसकिने भएर फिर्ता पठाइएको बताएका छन् । मेडिसिन, पल्मोनरी लगायत सम्बन्धित विषयका चिकित्सकहरुसँगको छलफलपछि उपचार गरेर बचाउन नसकिने अवस्था भएकोले ती विरामीलाई भर्ना नगरी पठाइएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले बताए ।   

‘ती महिलाको केस जटिल देखेर भर्ना गर्न नसकिने भनेकोले घर लैजान सल्लाह दिएको सम्बन्धित चिकित्सकहरुले बताएका छन् । कोरोना भएको कारणले उपचार नगरिएको हैन ।’ उनले भने । तर, क्रिटिकल केस उपचार गर्न भनेर स्थापना गरिएको प्रतिष्ठानले केस क्रिटिकल छ भनेर विरामीलाई भर्ना नै नगरी भगाउनु आफैंमा हास्सास्पद छ ।   

यता प्रतिष्ठानका पल्मोनरी एण्ड क्रिटिकल्ली केयरका एशोसिएट प्रोफेसर डा. दिब्यराज मिश्रले इमरजेन्सीमा के भएको आफुलाई थाहा नभएको तर, आइसोलेसनमा आएपछि आफुले केस हेरेर अन्य चिकित्सकको सल्लाहमा उपचार हुन नसक्ने भएकोले बृद्धाका आफन्तलाई घर लैजान सल्लाह दिएको बताए ।   

इमरजेन्सीमा लैजाने वित्तिकै भेन्टिलरमा राखेर उपचार शुरु गरेको भए आमा बाँच्नु हुन्थ्यो कि ! 

मेरो आमा बुधबारे मसँगै बस्नुहुन्थ्यो । आसाम गुहावटीमा मामाको छोरालाई अपहरणकारीले अपहरण गरेर ५० लाख फिरौति माग्दा तिर्न नसक्दा काटेर मारिदिए । त्यहि मामाको छोराको काजक्रियामा आमा जानु भएको थियो । १३ दिनको काम सकिएको चार पाँच दिनमा स्वासप्रस्वासको समस्या आएपछि त्यहाँको सरकारी अस्पतालमा लगेर रिपोर्ट बनाएर प्राइभेट ह्यात अस्पतालमा दिनको ५० हजार तिरेर भेन्टिलेटरमा राखेको थियौं । पछि उपचार खर्च महंगो भएर सबैको सल्लाहमा चैत्र २१ गते नेपाल ल्याइएको हो ।   

सिलगढी पानीटंकी हुँदै नेपाल ल्याउँदा सुरक्षाकर्मीहरुले अस्पतालको रिपोर्ट हेरेर आउन दिए तर, झापाका अस्पतालहरुमा भर्ना गर्न खोज्दा गुहावटीको अस्पतालको एउटै रिपोर्ट नहेरी ज्वरो आएको भन्दै कोरोनाको शंका गरेर भर्ना लिएनन् । 

झापाको कन्काई, मनमोहन र विर्तासिटीमा उपचार गर्न मानेनन् । विएण्डसीमा डाक्टर छैनन भने । त्यसपछि एम्बुलेन्समा राखेरै घोपा क्याम्पमा ल्याएँ । त्यहाँपनि म र मेरी आमालाई इमरजेन्सीका डाक्टरले दुब्र्यहार गरे । विरामीको सबै जानकारी गराएर भेन्टिलेटरमा राखेर उपचार गर्न आग्रह उनीहरुले ज्वरो आएको छ, भर्ना लिन सक्दैनौं, माथि डाक्टरहरुको मिटिङ चल्दैछ भनेर इमरजेन्सी अगाडी एम्बुलेन्समै राखे ।   

इमरजेन्सी अगाडी गेटमा बस्दापनि छेउछाउ नआउन भने । गाउँमा सुंगुरका पाठापाठीलाई गर्ने जस्तो ब्यवहार गरे । २ घण्टा इमरजेन्सी अगाडी राख्दा आमालाई झन गाह्रो भयो । त्यसपछि हारगुहार गर्दै रुन थालेपछि एकदुई जना डाक्टर आएर कोरोना आइसोलेसनमा लैजान भने । त्यसपछि आइसोलेसन अगाडी लग्यौं । तर, त्यहाँपनि कोही आएनन् । एक जना डाक्टर कोही नर्सलाई  भन्दा उनी आफैं आत्तिइन् । त्यहाँ झण्डै २ घण्टा बस्दा वेला बेलामा आएर केही डाक्टरले ‘एकछिन एकछिन’ मात्र भने । अत्ति नै भएपछि रोइकराई गर्न थाल्यौं । र त्यसपछि मात्रै एक दुई जना ठूला डाक्टर आएर विरामीको अवस्था एकदमै नाजुक भइसकेकोले उपचार हुन नसक्ने बताउँदै घर लैजान सल्लाह दिए । त्यसपछि आमालाई उपचारै नगरी घर ल्यायौं । उहाँको त्यहि दिन निधन भयो ।   

कोरोना भएको हुन सक्ने भन्दै झापा र धरानको घोपा क्याम्पमा डाक्टरहरुले मेरो आमाको उपचार गर्न मानेन् । हामीसँग आसामको अस्पतालले दिएको सबै रिपोर्टहरु थियो । आमालाई इमरजेन्सी लग्दै गर्दा रिपोर्ट हेरेर भेन्टिलेटरमा राख्न पाएको भए सायद आमा केहि दिन भएपछि बाँच्न सक्नुहुन्थ्यो कि ! तर, डाक्टरहरुले नै हामीलाई पशु जस्तो ब्यवहार गरे । आमालाई कोरोना भएको भए गुहावटीको हयात अस्पतालले ल्याउनै दिदैनथ्यो नि ! पानीटंकी बोर्डरबाट छिर्दा एसएसवीले अस्पतालको रिपोर्ट हेरेर नेपाल छिर्न दियो तर, नेपालका अस्पतालहरुका डाक्टरहरुले भने रिपोर्ट पनि हेर्न मानेनन् ।   

डाक्टरले मेरो आमालाई ज्वरो के कारण आयो ? भनेर रिपोर्ट माग्नु पर्दैन ? एकै चोरी रेफर गर्ने ? रिपोर्ट नै नहेरी उपचार हुन सक्दैन भनेर कसरी भन्न मिल्छ ? यो कहाँको उपचार पद्दति हो ? कम्तिमा एक पटक उपचार शुरु गरेर वित्नु भएको भएपनि अलिक सन्तोक हुन्थ्यो । आमालाई बचाउन त के उपचारै गर्न पाएनौं ।   

फेरी हामीलाई पनि कोरोनाको लक्षण देखिनुपर्ने हो नि, खै १३ दिन क्रियामा बसें, मेरो परिवार मसँगै छ, कसैलाई सामान्य रुघामर्की समेत भएको छैन । घोपा क्याम्पमा आमालाई लैजाँदा इमरजेन्सीमा समेत हुल्न दिएनन् । आमालाई उपचार गर्न नपाएर मतड्पिइरहँदा इमरजेन्सीका छाक्टरले छुवाछुतको ब्यवहार गरे । डाक्टरहरुले विरामी दर्ता समेत गरेनन् । एम्बुलेन्सबाट विरामी निकाल्न पनि पाइन । डाक्टरलाई भगवानको अर्को रुप भन्थे, तर यहाँका डाक्टरहरुमा भगवान रैनछन् ।   

सम्पादकीयः यो रिपोर्टमा मृतकका आफन्तको आग्रहमा उहाँहरुको परीचय गोप्य राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *