दश डीआईजीको पदस्थापन, सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए

बैशाख ८, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० जना डिआइजीको पदस्थापन गरेको छ । सोमबार नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा पदस्थापन भएका नेपाल प्रहरीका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
गृह मन्त्रालयले चैत २८ गते एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, शहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

दस्थापन गरिएका मध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।
जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, २ नं प्रदेशमा धिरजप्रताप सिंह, बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी लाई नेतृत्व प्रदान गरिएको छ ।
यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।
डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको । प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ ।
हाल प्रदेश नं. २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी सुम्पिएको छ ।








