…जाे बिहान नौ बजेदेखि खाना खान कुरेर बस्छन्

चैत्र २६, विराटनगर । ४३ वर्षीय मोहन बिहान नौ बजेदेखि खाना खान कुरेर बस्छन् सडकमा । कुन बेला खाना आँउछ भन्दै बाटो तर्फ हुन्छ उनको आँखा ।  

उनी सडकमा मागेर नै भोक मेटाउने गर्थे पहिले पनि । सरकारले लकडाउन गरेपछि भने उनको दैनिकी फेरिएको छ । लकडाउनको कयौं दिन त उनी भोकै बसेका थिए ।  

त्यस्तै अर्का ४३ वर्षीय तेज विक्रमको पनि बास सडकमै हुन्छ । उनले पनि भोको पेट अरुसँग नै मागेर भर्ने गरेका छन् । वर्षौदेखि आफ्नो घर समेत गएका छैनन् ।  

फाट्टफुट्ट काम भेटे गरिहाल्ने उनी लकडाउनका कारण खाली हात बस्न बाध्य भएका छन् । ‘सबैको आँखा भाइहरु आउने बाटोतिर हुन्छ, हाम्रो लागि यो विपतको बेला भगवान नै हुनुभएको छ’ उनले भने ।  

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल अछुतो छैन । विश्वका कयौं राष्ट्रहरु यति बेला लकडाउनको अवस्थामा छ भने नेपालमा पनि चैत्र ११ गतेदेखि लकडाउन छ । सरकारले चैत्र २५ सम्मको लकडाउन लम्ब्याएर वैशाख ३ सम्म पुर्याएको छ । श्रमिक तथा मजदुरहरु भोकै बस्न बाध्य भएका छन् ।  

यस्तो अवस्थामा समाजिक अभियन्ता तथा युवा नेता ओसिम आलमको नेतृत्वमा सामाजिक अभियन्ता युवाहरुको समुहले विराटनगरका सडकमा जीवन व्यतित गरिरहेका तथा मागेर पेट भरिरहेकाहरुलाई खुवाउँदै आइरहेका छन् ।  

दैनिक ज्याला मजदुरी गर्ने विपन्न वर्ग साथै सडकमा मागेर जीवनयापन गर्नेहरुका लागि ९ दिन देखि दैनिक हजार बढीलाई खाना खुवाउँदै आएको सामाजिक अभियन्ता तथा युवा नेता ओसिम आलमले बताए ।  

८ दिनदेखि सुरु गरिएको उक्त अभियान लकडाउन अवधिभर जारी रहने युवा सामाजिक अभियन्ता पेरिस सुवेदीले बताए । उनले भने, ‘हामीले उनीहरुका लागि निशुल्क खानाको व्यवस्था गरेका छौँ । पप्पु अनसरीले संचालन गर्दै आएको रोयल विर्यानी हाउसमा खाना पकाएर उनीहरुलाई खाना खुवाउँदै आइरहेका छौँ ।’ 

रोयल विर्यानी हाउसका सञ्चालक अनसारीले किचन र कर्मचारी दिएको सुवेदीले बताए । सो अभियानमा भुषण लिम्बु, दिपेन मरिक, पुष्प अनसरी, संरक्षण देवकोटा, भवेश पौडेल, गणेश शाह, चिरन्जिवी आचार्य, गोपाल देवकोटा, संजय श्रेष्ठ, रुपेश कर्ण, सैमन श्रेष्ठ लगायतका युवाहरु सक्रिय छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *