सुकुम्वासीलाई एनटीएको राहत

चैत्र २४, काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनका कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका सुकुम्वासी टोलका परिवारलाई सोमबार राहत वितरण गरिएको छ ।   

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासँगै रहेको सुकुम्वासी बस्तीका १० घरका परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।   

वितरण गरिएको खाद्य राहत सामाग्रीमा चामल, तेल, नुन, चिनी र दाल रहेका छन् । एक परिवारलाई करिब २ हजार १ सय रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए । 

राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान बज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरूबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ सङ्कलन भएको अध्यक्ष खड्काले जनाएका छन् ।   

दोस्रो चरणमा मङ्गलवार कागेश्वरी मनोहरा नगरपालिका वडा २ स्थित आलापोटमा रहेका निम्न आर्थिक अवस्थाका परिवार, दलित र एकल महिलालाई राहत वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । 

२०७२ सालको महाभूकम्पमा पनि एनटीएले भूकम्प पीडितहरूलाई राहत वितरण गरी सहयोग गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =