अढाई सय परीवारलाई राहत बाँडे युवा ब्यवसायी अनिल शेर्पाले

बैशाख ९, काठमाडौं । लकडाउनका कारण जनजिवन अस्तब्यस्त भएपछि चावहिल गणेशस्थानका एक युवा ब्यवसायीले अढाई सय दैनिक ज्यादालारीका मजदुर परीवारलाई राहत वितरण गरेका छन् ।  

चावहिल ओम हस्पिटल छेउमा अतिथी गेस्ट हाउस सञ्चालन गर्दै आएका ब्यवसायी अनिल शेर्पाले आज राजधानीका विभिन्न स्थानमा रहि दैनिक ज्यालादारीमा जिवनयापन गरीरहेका २ सय ५० परीवारलाई चामल, दाल, नुन, तेल वितरण गरेका हुन् ।   

यसअघि सडकमा रहेका कुकुर तथा पशुपति क्षेत्रका बाँदरहरुलाई समेत दैनिक खाना खुवाउँदै आएका उनले आफ्नै खर्चमा अढाई सय परीवारलाई ८ केजी चामल, १ केजी भन्दा बढि दाल, १ प्याकेट नुन तथा चिउरा समेत वितरण गरे । आज मध्यान्ह स्थानीय काठमाडौं महानगरपालिका वडा नं. ७ को समन्वयमा फारम भरेरै दैनिक ज्यालादारीका परीवारलाई राहत वितरण गरेका हुन् ।  

उक्त क्षेत्रमा आज राहत वितरण गर्ने थाहा पाएपछि राजधानीका विभिन्न क्षेत्रबाट सयौंको संख्यामा कमजोर आर्थिक अवस्था भएका परीवारहरु आएका थिए । लकडाउनका कारण एकछाक खान नपाएर आहत भएका परीवारको तथ्यांक संकलन गरेरै युवा ब्यवसायी शेर्पाले राहत वितरण गरेको बताए । ‘हामीले चावहिल, गंगाहिटी, भत्केको पुल, पुरानो बानेश्वर तथा पुतलीसडक सम्मै गएर गरिब र दैनिक ज्यालादारीका परीवारको लगत लिएर पारदर्शी रुपमा राहत वितरण गरेका छौं ।’ उनले भने ।   

साथै शेर्पाले विश्व नै लकडाउनको परिस्थितिमा रहेकोले यो बेला सबैले आ–आफ्नो क्षेत्रबाट समाजमा रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका दैनिक ज्यालादारी गरेर खानेलाई संरक्षण गर्नुपर्ने बताए ।   

राहत लिनका लागि चावहिल, गणेशस्थान, गंगाहिटी, भत्केको पुल, कालोपुल, पुतली सडक, पुरानो बानेश्वरसम्मबाट ज्यालादारीमा काम गर्नेहरु आएका थिए । राहत लिन महिला, बालबालिका तथा बृद्धबृद्धा र युवाहरुको पनि उपस्थिति रहेको थियो । सामाजिक दुरी कायम गरेर अढाई सय परीवारलाई राहत वितरण गरिएकोमा करिब साँढे तीन सयको उपस्थिति रहेको थियो । राहत पाएपछि एक महिलाले सरकारले दिएकाे राहत पाउन नसकेपनि ब्यक्तिगत पाएकाे सहयाेगले केहि दिन परिवारकाे पेट पाल्न सहयाेग पुग्ने बताइन् । 

एक महिनादेखि जारी लकडाउनले ज्यालादारी गरेर जिवनयापन गर्नेहरुको दैनिकी अस्तब्यस्त भएको अवस्थामा एउटा ब्यवसायीले आफ्नै खर्चमा यसरी राहत वितरण गर्नु पुण्यको कुरा भएको भन्दै काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्ध डंगोलले बताए ।   

‘उहाँले जुन काम गर्नुभयो यो अत्यन्त पुण्यको काम हो, हामीले उहाँबाट धेरै सिक्न सक्छौं, संकटको बेला राज्यले पनि सबै ठाउँमा आफ्नो उपस्थिति देखाउन नसक्ला तर, हुने खानेहरुले हूँदा खानेहरुलाई एक छाक दिएर भएपनि मानवता प्रदर्शन गर्न जरुरी छ ।’ ७ नं. वडाध्यक्ष शुद्ध डंगोलले भने । उनले वडा कार्यालयले आफ्ना वडाभित्र रहेका दैनिक ज्यालादारीका परीवारको तथ्यांक संकलन गर्ने र सरकारी राहत वितरण गर्ने कार्यलाई पनि निरन्तरता दिइरहेको जनाए ।   

यस्तै युवा ब्यवसायी अनिल शेर्पाको सामाजिक कामबाट प्रभावित भएका स्थानीयबासीहरुले पनि मुक्त कण्ठले प्रशंशा गरे । ‘उहाँ सानै देखि ठूलो संघर्ष गरेर यहाँसम्म आइपुग्नु भएको हो । त्यहि भएर दुःखी गरिबको पिडा बुझ्नु हुन्छ । उहाँले जुन पुण्यको काम गर्नुभयो अरुले पनि आफ्नो ठाउँबाट गर्न जरुरी छ ।’ स्थानीय तिर्थ पौडेलले भने ।   

एक महिनादेखि जारी लकडाउनले राजधानीको जनजिवन अस्तब्यस्त भएको अवस्थामा उनले सामाजिक प्राणी कुकुरलाई पनि दैनिक खाना खुवाइरहेका छन् । विगत १० दिन यता उनले स्थानीय कुकुर तथा पशुपति क्षेत्रका बाँदरलाई खाना खुवाएर पुण्यको काम गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =