लकडाउन उल्लंघन गरे ५ सय जरिवाना

चैत २६, चितवन । चितवनको भरतपुर भित्रका टोल विकास संस्थाहरुले लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न कडा नियम बनाएका छन् ।   

भरतपुर-७ स्थित उज्वल टोलले जथाभावी हिडडुल गर्ने, सवारी चलाउनेलाई ५ सय रुपैयाँ जरिवाना लगाउने चेतावनी दिएको छ । टोलका अध्यक्ष रामचन्द्र चालिसले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि पहल थालिएको बताए । 

‘अनावश्यक हिडडुल गर्ने, मोटरसाइकल चलाउने, छिमेकी सहितको भेला गर्ने काम हुने गरेको देख्यौँ’, उनले भने, ‘घरभित्रै बस्न प्रेरित गर्ने गरि कडा नियम बनाएका छौँ ।’ टोलको मंगलबार बसेको बैठकले टोल बाहिरका व्यक्तिलाई टोल प्रवेशमा समेत निषेध गर्ने निर्णय गरेको छ ।   

मंगलबार दिनभर माइकिङ गरि लकडाउन पूर्ण पालना गर्न सुझाएको छ । उज्वल टोल प्रवेश गर्ने कालोपत्रे गरिएका सबै सडकमा ढाट राख्ने, टोलभित्र भइरहेका निर्माण कार्य रोक्ने, आयातित तरकारी तथा फलफूलको बिक्रि वितरणमा पूर्ण बन्देज लगाउने निर्णय गरेको छ । यस्तै ज्यालादारी मजदुरीको आवतजावतलाई समेत बन्देज गर्दै आवश्यक सहयोगका लागि वडा कार्यालयसँग समन्वय गर्ने जनाइएको छ । 

दूध, औषधि, खाद्यान्न खरिद तथा बिक्रिका लागि विहान ६ बजेदेखि र बेलुका ५ बजेदेखि २ घण्टामात्रै खोल्ने र व्यवसाय खुल्ला हुने समयमा खरिद बिक्रि कार्य गर्दा कम्तिमा २ मिटरको दुरी कायम गर्नुपर्ने जनाइएको छ । लकडाउन कार्यान्वयनका लागि इश्वरकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । 

यस्तै भरतपुर–११ का ५ टोल विकास संस्थाले लकडाउन पूर्ण पालना गर्न आग्रह गरेका छन् । पोखरी टोल, निलगिरी जागृति, जनोदय समन्वय, मुक्तिनगर, नयाँकिरण टोलभित्र अनावश्यक हिडडुल र सवारी नचलाउन आग्रह गरेका छन् । खाद्यान्न लगायतका अतिआवश्यक सामाग्रीका पसल विहान ११ देखि ३ बजेमात्रै खोल्ने जनाइएको छ । 

यस्तै दूध र मासुका पसल विहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि साढे ६ बजेसम्म खोल्ने जनाइएको छ । पसलहरुमा भीडभाड नगर्न आग्रह गर्दै सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ । मर्निङ वार्क गर्न समेत राक लगाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =