विराटनगरमा निर्माण गरियो कोरोना स्वाब बुथ

चैत्र २७, विराटनगर। कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद बिरामीको नमुना संकलनका लागि विराटनगरमा स्वाब परीक्षण सङ्कलन केन्द्र (स्वाब बुथ) निर्माण गरिएको छ। विराटनगर महानगरपालिकासँगको सहकार्यमा युवा रिसर्चरहरुको समूहले ‘स्वाब बुथ’ निर्माण गरेका हुन्।
कोरोना शंकास्पद बिरामीको परीक्षणमा ‘स्वाब बुथ’ फलदायी हुने अपेक्षा रहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए। उक्त बुथमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेटको आवश्यकता नपर्ने हुँदा चिकित्सकहरूलाई सहज हुने उनले बताए।
स्थानीय स्रोत साधनको प्रयोग गरेर बनाइएको ‘स्वाब बुथ’ले कोरोनाको आशंका भएका व्यक्तिको नमुना सङ्कलन गर्न सहज हुनेमा आशावादी रहेको पराजुलीले बताए। उनले नेपालमा रिसर्च गर्नेहरूलाई प्रोत्साहन गर्न सके विपद्को समयमा काम लिन सहज हुने धारणा व्यक्त गरे।

युवा रिसर्चरहरुको एउटा समूहले महानगरको सहयोगमा थप अनुसन्धान र निर्माणका काम गरिरहेको छ। विपद्को अवस्थामा निर्माण गरिएको यस प्रविधिबाट चिकित्सकहरूलाई सहज हुने रिसर्चर प्रकाश सुवेदीले बताए। कोरोना स्वाब सङ्कलन केन्द्र (स्वाब बुथ) महानगरपालिकाले कोसी अस्पताललाई बिहीबार हस्तान्तरण गर्ने महानगरले जनाएको छ।








