दुःखीको दुखेसोः ‘सडकमा बस्नेलाई कसले वास्ता गर्छ र ?’

चैत २७, विराटनगर । ‘हामी सडकमा बस्नेलाई कसले वास्ता गर्छ र ? मरौं कि बाँचौ जस्तो भएको छ’, ४३ वर्षीय मोहनले लामो सुस्केरा हाल्दै बोल्न सुरु गरे ।  

मोहनको दैनिकी मागेरै चलेको थियो । कतिले गाली गर्थे, तैपनि सहन्थे । उनी आजसम्म घर गएका छैनन् । सडकमा नै उनको आधा जीवन बितिसक्यो ।  

लकडाउनले भने त्यो काम पनि ठप्प भयो । बाटोमा कोही भेटे पो माग्नु ! 

लकडाउनका कारण भोकले छट्पटाएको उनको पेटले अहिले केही हदसम्म शान्ति पाएको छ । दुई, चार जना सहयोगी मानिसले उनको भोक मेटाइदिने प्रयास गरेका छन् ।  

मोहन भन्छन्– ‘सधैँ मागेर हिँड्थेँ । मागेर नै पेट भर्थेँ । कतिले गाली मात्रै गर्थे । अहिले बुझ्दैछु, मान्छेभित्र धर्म पनि जिवित रहेछ । सहयोगी भाइहरुले साह्रै हेरविचार गर्नुभएको छ ।’ 

लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने तथा सडकमै मागेर जीवन गुजारा गरिरहेकाहरुलाई विराटनगरका युवाहरुले खानासँग बिहीबार स्वास्थ्य जाँच गराएका थिए । यही सहयोगका कारण मोहनले मानिसको पनि मन हुँदो रहेछ भन्ने भेउ पाएका हुन् । नत्र त उनलाई सधैँ निर्दयी लाग्थे मानिसहरु ! 

सडकमा रहने हुँदा स्वास्थ्यमा बढी असर पर्ने भएकोले उनको स्वास्थ्य जाँच गराएको सामाजिक अभियन्ता तथा युवो नेता ओसिम आलमले बताए । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको सहयोगमा उनीहरुको स्वास्थ्य जाँच गरिएको आलमले जानकारी दिए ।  

ज्याला मजदुरी गर्ने तथा सडकमा नै बसोबास गर्ने करिब १ सय ५९ जनाको स्वास्थ्य जाँच गराईसकिएको युवा सामाजिक अभियन्ता पेरिस सुवेदीले बताए ।  

उनका अनुसार स्थानीय अस्पतालका स्वास्थ्यकर्मीहरुले उपचारका लागि सहयोग गरेका थिए ।  खाना, स्वास्थ्य जाँचसँगै उनीहरुलाई स्वस्थ रहन मास्क समेत वितरण गरेको सुवेदीले बताए ।  

युवा नेता ओसिम आलमको नेतृत्वमा विराटनगरका सामाजिक अभियन्ता पेरिस सुवेदी, दिपेन मरिक, पप्पु अन्सारी, संरक्षण देवकोटा, भवेश पौडेल, गणेश शाह, चिरन्जीवी आचार्य, गोपाल देबकोटा, संजय श्रेष्ठ, रुपेश दाश, भुसन पेमो लिम्बु, सैमन श्रेष्ठ, सन्जु सापकोटा निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन् । त्यस्तै दिपेन्द्र मेहेता, एमडी रेहान पनि यो अभियानमा जोडिएका छन् ।  

खाना बनाउनमा कमल श्रेष्ठ, यसिर घिमिरे र अब्दुल रहमानले सहयोग गर्दै आएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =