‘सहमतिको सरकार र मध्यावधि चुनाव कांग्रेसको माग होइन’

चैत्र २३, काठमाडौं। नेपाली कांग्रेसले अहिलेको अवस्थामा पार्टीले सहमतिको सरकार र चुनावको कुनै माग नगरेको स्पष्ट पारेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रहसमेत गरेका छन्। 

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘व्यक्तिगत मतहरु केवल व्यक्तिगत हुन्छन्, पार्टीलाई गांसेर अतिरंजित ब्याख्या नगरौं। संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ। न सहमतिको सरकार न चुनाव। यो संकटको घडी जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी !’ 

केही दिनअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाएर जाने पनि चलन छ भन्ने अभिव्यक्ति दिएका थिए। साथै पार्टी सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनाव हुनुपर्ने बताएको दाबीसहित खबर आएपछि प्रवक्ता शर्माले ती माग पार्टीका नभएको बताएका हुन्। 

वरिष्ठ नेता पौडेलले सहमतिको सरकार बनाइहाल्नुपर्छ भन्ने माग आफ्नो नरहेको यसअघि नै प्रष्टिकरण दिइसकेका छन्। महतले पनि आफूले नबोलेका कुरा समाचारमा आएको भन्दै ध्यानाकर्षण भएको बताएका छन्। सोही विषयमा संकेत गर्दै प्रवक्ता शर्माले संस्थागत रूपमा पार्टीको धारणा जिम्मेवार ढंगले संकटका बेला सरकारलाई साथ दिने मात्र रहेको उल्लेख गरेका हुन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =