जबरजस्ती कसैसँग चन्दाको माग नगरेको धरानका मेयरको स्पष्टोक्ति

चैत्र २५, धरान। धरान उपमहानगरपालिकाले करोना महामारीसँग जुध्न आवश्यक तयारी गरिरहेको जनाएको छ। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मङ्गलवार पत्रकार सम्मेलन गरी धरानभित्रका करिब १२ हजार विपन्न नागरिकलाई राहत दिने कार्यलाई तीव्र बनाएकोसमेत जानकारी दिए।    

मेयर राईका अनुसार राहतको स्रोत साधन जुटाउने कार्यमा आफूहरू दिनरात खटिरहेको बताए। उनले धरानमा १२ हजार विपन्नको नाम सङ्कलन भएको जानकारी दिए। धरानका विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट उपलब्ध खाद्यान्न सामग्री तथा नगद रकम अनुसार राहत बाड्ने उनको भनाइ रहेको छ।   

पत्रकार सम्मेलनमा मेयर राईले केही दिनअघि धरान उपमहानगरपालिकाले विपी प्रतिष्ठानमालाई पठाएको पत्रबाट धराने जनतामा गलत सन्देश प्रवाह भएको बताए। उनले राहतको व्यवस्थापनका लागि स्रोत खोज्दा विपी प्रतिष्ठानमा पनि पत्र पठाइएको स्वीकार गरे। तर मेयर राईले प्रतिष्ठानका प्रतिनिधिहरूले स्वइच्छाले सहयोग गर्ने भनेपछि पत्र पठाइएको जिकिर गरे।   

उनले भने, ‘प्रतिष्ठानलाई आग्रह गरेका हौँ। राहत दिने नदिने विपी प्रतिष्ठानको कुरा हो। हामीले जबरजस्ती मागेका छैनौँ। प्रतिष्ठान प्रशासन तथा डाक्टरहरूसँग कुराकानी भएपछि मात्र पदाधिकारीलाई सम्बोधन गरेर पठाएका हौँ।’ उपमहानगरपालिकाले राहत कोष स्थापना गरी विभिन्न व्यक्ति र संघसंस्थाबाट सहयोग सङ्कलन गरिरहेकोले यस कोषमा स्वइच्छा अनुसार जो कोहीले सहयोग गर्न सक्ने उनले बताए।   

पत्रकार सम्मेलनमा उनले ‘लकडाउन’को यस अवधिमा भएका गतिविधिबारे पनि जानकारी गराए। उपमहानगरपालिकाले धरानका मुख्य चौकहरूमा हात धुने पानी ट्याङ्की राखिएको, सेनिटाइजर उत्पादन गरी वितरण गरिएको, विदेशबाट धरान आएका ११३ जनाको पहिचान गरी उपचारको व्यवस्था तथा कोरोना रोकथामका निम्ति आवश्यक सुरक्षा अपनाइसकेको  मेयर तिलक राईले जानकारी दिए।  

बिरामीहरूको सहज उपचारका लागि उपमहानगरले विभिन्न संघसंस्थासँग समन्वय गरेको उनले बताए। उनले कोरोना आशंका बिरामीहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरेको समेत बताए। उपमहानगरले एम्बुलेन्स चालकहरूलाई  प्रोत्साहन भत्ताको प्रबन्ध मिलाएको उनले बताए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =