प्रदेश २ मा १३२ जनाको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

चैत्र ३०, विराटनगर। प्रदेश नं २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि नमूना संकलन गरिएका ३ सय ६३ जना मध्ये १ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। २ सय ३१ जनाको रिपोर्ट आउन बाँकी छ।   

प्रदेश नं २ मा यही चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६० को रिपोर्ट नेगेटिभ आएको छ भने ३७ को रिपोर्ट आउन बाँकी छ। प्रादेशिक अस्पताल जनकपुरमा २४६ को परीक्षण गरिएकामा ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १९४ जनाको आउन बाँकी छ। त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

भारतलगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी छ। प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा विभिन्न जिल्लामा निर्माण गरिएको तीन हजार २३७ श्यया क्षमताको १४६ क्वारेन्टाइनमा ७२ महिला र ९२१ पुरुष गरी जम्मा ९९३ शङ्कास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए। 

सचिव घिमिरेले प्रदेशभरिमा अहिले ५३ महिला र एक हजार २४१ पुरुष गरी जम्मा एक हजार २९४ व्यक्ति होम क्वारेन्टाइनमा छन् भने २१४ श्यया क्षमताको आइसोलेसनमा दुई महिला र १२ पुरुष गरी जम्मा १४ भर्ना रहेको बताए। रौतहटमा ७०५ श्यया क्षमताको १६ क्वारेन्टाइनमा अहिले १७ महिला र २०१ पुरुष गरी जम्मा २४१ जनालाई र तीन महिला एवं ४१ पुरुष गरी ४४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० श्यया क्षमताको आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको बताइएको छ। 

त्यस्तै बारामा ४०४ श्यया क्षमताको १४ क्वारेन्टाइनमा अहिलेसम्म पाँच महिला र ६३ पुरुष गरी जम्मा ६८ लाई राखिएको छ। बारा जिल्लामा निर्माण गरिएको ४८ आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिए। बारामा अहिले दुई महिला र ५५ पुरुष गरी ५७ होम क्वारेन्टाइनमा छन्। 

पर्सामा २८६ श्यया क्षमताको १४ क्वारेन्टाइन बनाइएको छ। त्यहाँ १५ महिला र ७० पुरुष गरी ८५ जना क्वारेन्टाइनमा र दुई महिला र नौ पुरुष गरी ११ होम क्वारेन्टाइनमा छन्। पर्साका विभिन्न ठाउँमा रहेको ३० श्ययाको आइसोलेसनमा अहिले तीन शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ। 

सप्तरीमा ५८७ श्यया क्षमताको ३१ क्वारेन्टाइनमा अहिले सात महिला र २४७ पुरुष गरी जम्मा २५४ लाई निगरानीमा राखिएको छ भने सात महिला र १८८ पुरुष गरी १९५ होम क्वारेन्टाइनमा छन्। सप्तरीमा रहेको १३ आइसोलेसन कक्षमा अहिले कुनै पनि बिरामी नरहेको बताइएको छ। 

सिरहामा २४६ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले १३ महिला र १२१ पुरुष गरी जम्मा १३४ र चार महिला एवं ७३ पुरुष गरी होम क्वारेन्टाइनमा ७७ रहेका छन्। त्यस जिल्लामा ४० श्ययाको आइसोलेसन रहेकामा त्यहाँ अहिले चार शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ। 

सचिव घिमिरेका अनुसार धनुषामा ३६२ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले छ महिला र ९३ पुरुष गरी ९९ जनालाई राखिएको छ। यस जिल्लामा अहिले १० महिला र ५२ पुरुष गरी ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। प्रादेशिक अस्पताल जनकपुरमा १२ श्ययाको आइसोलेसन रहेकामा त्यहाँ दुई महिला र पाँच पुरुष गरी सात शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ। 

त्यस्तै महोत्तरीमा ३२५ श्यया क्षमताको १७ क्वारेन्टाइन बनाइएको छ। त्यहाँ अहिलेसम्म २० महिला र ७७८ पुरुष गरी जम्मा ७९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा सात महिला र ६७ पुरुषलगायत ७४ जनालाई राखिएको छ। महोत्तरीमा २६ श्ययाको आइसोलेसन निर्माण गरिए पनि अहिले तिनमा कुनै पनि शङ्कास्पद बिरामी नआएको उनले जनाए। 

सचिव घिमिरेले सर्लाही जिल्लामा ३२१ श्यया क्षमताको २० क्वारेन्टाइनमा अहिले दुई महिला र ५९ पुरुष गरी ६१ रहेका बताए। उनले पाँच महिला र ४५ पुरुष गरी ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको बताए। त्यहाँ १५ आइसोलेसन कक्ष निर्माण गरिए पनि अहिले ती आइसोलेसनमा कुनै पनि शङ्कास्पद बिरामी आएका छैनन्। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *