खानेकुराको खोजीमा भौँतारिरहेका छन् सडकका कुकुर

वैशाख ४, विराटनगर। सधैँ भिडभाड हुने गुद्रि बजार क्षेत्र यो समय सुनसान छ। मानिसको चहलपहल पातलो नै छ। अधिकांश पसल पनि बन्द छन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि अतिआवश्यक काम बाहेक सवारी साधन चलाउन रोक लगाइएको छ। ‘लकडाउन’ चौथो पटक बढाएर वैशाख १५ गतेसम्म पुर्याइएको छ।
मानिसहरुले पनि यस्तो समयमा घर भित्र रहेर सामाजिक दूरी कायम गर्ने प्रयास गरिरहेका छन्। कोरोना भाइरसको महामारीका कारण मानिसहरूको दैनिकीमा परिवर्तन आएको छ। आसपासका पसल, होटेलहरू बन्द छन्। यो अवधिमा मानिसहरु घर बाहिर ननिस्किँदा सडकमा हिँड्ने कुकुर, गाईलगायतका पशु चौपाया समस्यामा परेका छन्।

विशेष गरी लकडाउन सुरु भएपछि सडकमा कुकुर भोकै परेका छन्। खानाको खोजीमा लरबराउँदै हिँडिरहेका छन्। मान्छेको आवागमन र पसल बन्द भएपछि खान पाएका छैनन्। तर सामान्य अवस्थामा भने सडकका कुकुरलाई खानाको लागि समस्या नहुने पुरानो गुद्रिमा भेटिएका अजय दाशले बताए।
उनले भने, ‘बिहान, बिहान एक समूहले कुकुरलाई खानेकुरा दिइरहेका हुन्छन्। ती मध्ये कतिले त खान पाएका पनि हुन्छन् या हुँदैनन्।’ सोही ठाउँका भागवत गुप्ताले पनि अहिले सकडका कुकुरहरु खान नपाएर समस्यामा परेको सुनाए। उनले भने, ‘यस्तै अवस्था लामो समय रहने हो भनेसडकका कुकुरहरू पनि भोकैले मर्छन्।’








