बिरामी नजाँच्ने अस्पतालको इजाजत रद्द गर्न निर्देशन

चैत्र १९, जनकपुर। प्रदेश २ सरकारले बिरामी नजाँची फर्काउने अस्पतालाई कारबाही गर्ने जनाएको छ। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्लाका सुरक्षा र प्रशासन अधिकारीसँग ‘लकडाउन’ अवधिभरको समीक्षा गरेका थिए।   

समीक्षामा निजी संस्थाले उपचारमा लापरबाही गरेको गुनासो आएपछि बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमलाई कारबाही गर्ने निर्णय लिइएको हो। मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न समेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।   

कोरोना संक्रमणको आशंकामा सामान्य रुघाखोकी लागेकालाई समेत उपचार नगरी अस्तपालले फर्काउन थालेका छन्। मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकको सूची तयार गरी प्रदेश सरकारमा पठाउनसमेत प्रजिअहरूलाई निर्देशन दिए। ‘राज्यको सुविधा लिएर संकटको बेलामा बदमासी गर्ने जो–कोहीलाई पनि कारबाही गर्छौं। तपाईंहरू सिफारिस गर्नुस्, लाइसेन्स खारेजीसम्मको कारबाही हुन्छ,’ उनले प्रजिअहरूलाई भने। 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले उपचारमा हेलचेक्य्राइँ र लापरबाही गर्ने स्वास्थ्य संस्थाको इजाजत रद्द गर्न प्रजिअहरूलाई पत्रसमेत लेखिसकेका छन्। नेपाल प्रहरीका प्रदेशप्रमुख डिआइजी प्रद्युम्न कार्कीले लकडाउनलाई अझ प्रभावकारी बनाउन अत्यावश्यक काममा बाहेक बाहिर निस्कनेलाई कारबाही गरिने बताए।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =