कोरोना परिक्षणका लागि मोबाइल एप्समा इन्ट्री गर्नेको संख्या १२ हजार नाघ्यो, १८० जना रेड जोनमा !

चैत्र २७, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा आज (बिहीबार) सम्ममा २ हजार ८ सय ९५ जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।  

उनका अनुसार काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २२ सय ८२ र उपत्यका बाहिर १३ जनाको परिक्षण भएको हो । परीक्षण गरिएकामध्ये हालसम्म ९ जनाको मात्रै रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित मध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ । 

त्यसैगरी आज १९३ जनाको स्वाब नमुना परिक्षण हुँदै गरेको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसपछि परिक्षणको संख्या ३ हजार नाघ्ने छ ।  

त्यसैगरी मुलुकभर ७ हजार ९४० जना मानिसहरु क्वारेन्टाइनमा छन् भने ११७ जना आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ९९ जना आइसोलेसनमा छन् ।  

त्यस्तै उनले कल सेन्टर १११५ र ११३३ मा गएको २४ घण्टामा ३ हजार ३९५ जनाले जिज्ञासा राखेको प्रवक्ता देवकोटाले बताए ।  

स्वास्थ्य मन्त्रालयको ‘हाम्रो स्वास्थ्य’ नामक एप्लिकेशन डाउनलोडको संख्या हालसम्म १६ हजार नाघेको छ भने कोभिड १९ सम्बन्धि जानकारी दिने मन्त्रालयको वेबसाइट हेर्नेको संख्या १ लाख ७५ हजार नाघेको छ ।  

त्यस्तै स्वास्थ्य मन्त्रालयको मोबाइल एप्समा कोरोना परिक्षणका लागि गएको २४ घण्टामा ८ सय २६ जनाले फारम भरेको पनि उनले जानकारी दिए । तीमध्ये ५ जना रेड जोनमा छन् । यसको अर्थ ५ जना संक्रमित हुन सक्ने सम्भावना रहन्छ । 

प्रवक्ता देवकोटाका अनुसार हालसम्म स्वास्थ्य परिक्षणका लागि एप्समा इन्ट्री गर्नेको संख्या कुल १२ हजार ८९४ पुगेको छ भने हालसम्म १८० जना रेड जोनमा छन् ।  

उनले र्यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) को परिक्षणको अवस्थाबारे पनि जानकारी गराएका छन् । प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परिक्षणका लागि ५ हजार प्रतिप्रदेशको दरले आरडिटी उपलब्ध गराइसकेको उनले जानकारी दिए ।  

त्यसैगरी बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिमहरु दिइसकिएको छ भने त्यहाँ परिक्षण पनि सुरु भइसकेको छ । कैलाली र कञ्चनपुरमा गरिएका हालसम्म ६६ आरडिटीका रिपोर्टहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा प्राप्त भएका छन् । सबैको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =