स्वास्थ्य सामग्री खरिदबारे मलाई कुनै जानकारी थिएन : प्रधानमन्त्री

चैत २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।
स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग नाटकीय रुपमा रातारात स्वास्थ्य सामग्री खरिद गरेको थियो। सम्झौताको पारदर्शिता र खरिद मूल्यमा विवाद देखिएपछि अचानक ठेक्का रद्द भएको थियो। यही विषयमा मंगलबार पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा विभागका डीजी (महानिर्देशक) स्तरमा भएको सम्झौताबारे आफू अनभिज्ञ रहेको दाबी गरेको सचिवालयका एक सदस्यले बताए।
बैठकमा नेताहरुले सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे स्पष्ट गर्न माग गरेका थिए। उनका अनुसार प्रधानमन्त्रीले मन्त्री र सचिवसमेत यसबारे जानकार नरहेको र विशुद्ध महानिर्देशक आफैंले निर्णय लिएको सुनाएको समाचार कान्तिपुरमा छ ।

‘सम्झौता गरेको पनि मलाई थाहा थिएन, रद्द गरेको पनि थाहा थिएन। यो स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै गरेका हुन्। कानुनीरुपले महानिर्देशकलाई त्यो अधिकार छ। यसबारे मन्त्री, सचिव कसैलाई थाहा छैन। झन् मलाई कुनै जानकारी छैन,’ बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै सचिवालयका ती सदस्यले भने, ‘अनियमितता भएको के हो, अरु के के भएको हो त्यो बारेमा म आफैं अनुसन्धान र छानबिनको क्रममा छु।’
बैठकमा सचिवालयका अन्य सदस्यहरुले ओम्नी समूहसँग सरकारको सम्बन्धबारे चासो राखेका थिए। ओम्नी समूहका सदस्यको प्रधानमन्त्री ओलीसँगै निकटसम्बन्ध रहेको समाचार प्रकाशमा आएकै बेला प्रधानमन्त्री ओलीले पार्टी नेताहरुलाई स्पष्ट पारेका हुन्।
यसअघि ठेक्का रद्द गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नी समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोलअनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्द गरेको बताएका थिए।








