‘सरकारको निर्णय सकारात्मक सन्देश जाने खालको हुनुपर्छ’

सरकारले आफूले गर्ने हरेक काम र गम्भीर विषयमा समेत किन लापरवाही गरिरहेको छ ? सरकार चलाउनेहरुले पार्टीभित्र र बाहिर रहेको शक्ति सन्तुलनको ख्याल किन गर्दैनन् ? 

समय अत्यन्तै चुनौतीपुर्ण छ । कुनै पनि विषयमा बरु १० पटक छलफल चलाउनुस्, उपयुक्त निर्णय मात्र बाहिर आओस् । यो सिङ्गो जनता र कार्यकर्ताको चाहना हो ।  

जनतालाई यस्तो लाग्न थाल्यो, सरकारको ५ जना मानिस बसेर छलफल गर्दा समेत २ जना दलाल र प्रतिक्रियावादीको मान्छे हुँदो रहेछ । छलफलको विषय पनि सरकारको निर्णय भनेर अनेक स्वार्थमा सरकारलाई बदनाम गराउने गरि बाहिर छरपष्ट हुने गरेको देखियो ।  

समय गम्भीर छ, समस्या झन् गम्भीर छ । त्यो भन्दा अझ गम्भीर आलोचना गर्नेहरुको पंक्ति छ । सरकारले गर्ने निर्णय जनतामा सकारात्मक सन्देश जाने खालको हुन पर्यो ।  

कुनै पनि विषम परिस्थितिमा र सन्दर्भमा राज्यको सुविधा खानेहरुको सुविधा कटौति गर्नुपर्ने स्थिति आयो भने पहिला निर्णय गर्नेहरुबाट सुरु गर्दा त्यसले जनतामा सकारात्मक सन्देश जान्छ ।  

हामीले मानेको नेता र जिम्मेवार मान्छेहरु हरेक विषयमा किन यति हल्का भएका होलान् । तपाईंहरुको हेलचेक्रयाई र संवेदनशीलतामा देखिएको लापरवाहीले हामी कार्यकर्ता हैरान भइसक्यौँ ।  

देशमा जनता पनि छन्, मिडिया पनि छ र सरकारको आलोचकहरु पनि छन् भनेर सरकारले बुझ्नुपर्यो। एउटा पनि सरकारको सकारात्मक कुरा बाहिर जान सक्दैन भने नकारात्मकताले मात्र सरकार र सरकार सञ्चालकहरुको भविष्य कता पुग्ला ? 

हाम्रो चिन्ताले केही हुने वाला छैन । चिन्ता गर्नेले चिन्ता नगरेपछि । संसारले भोगेको समस्यामा सरकार जानकार छ, त्यसले पार्ने प्रभावमा सचेत छ नै ।  

यतिखेर जनताको स्वास्थ्य महत्त्वपूर्ण विषय हो हालसम्म सरकारले गरेको सतर्कता र कामले विश्वलाई त्रसित पारेको कोभिट १९ को प्रभावले हामीलाई क्षति पुगेको छैन ।  

यसलाई अझ प्रभावकारी बनाउन र जनताको पक्षमा पार्न सरकारले गम्भीर भएर आलोचना रहित निर्णय गर्न सक्नुपर्यो । १ घण्टा पनि नटिक्ने छलफल किन चलाउनुपर्यो ? यस्तो छलफल भयो भनेर छलफलको विषय किन बाहिर ल्याउनुपर्यो ? 

यदि सरकारको सूचनाविना नै समाचार बाहिर आएको हो भने त्यो बाहिर ल्याउनेलाई किन कारबाही नगरेको ? 

सरकारलाई जनताको तर्फबाट अनुरोध छ, अबका दिनमा कच्चा, नटिक्ने छलफल वा निर्णय नगरियोस् । यस्तो कमजोर निर्णयले नेतृत्वको साख र जनताको विश्वास गुमाउँदै जान्छ । सचेत रहूँ ! 

(लेखक कमल पाठक अधिबक्ता हुन्) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =