कांग्रेसले भन्यो– नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउँछौँ

चैत्र २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको बैठकमा सो निर्णय भएको हो ।
बैठकले कोरोना भाइरसको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा समेत गरेको छ ।

समय पर्याप्त पाएर पनि आवश्यक तयारी नगरिनुलाई दुःख रुपमा लिँदै बैठकले कोरोनाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापकरुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ ।
स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले कोरोनाविरुद्धको सङ्घर्षमा सफलता मिल्ने विश्वास साथ बैठकले देशभरिका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान प्रकट गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), परीक्षण कीट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपिल गरेको छ ।
बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका सञ्चारकर्मीलाई सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको उनले जानकारी दिए ।
लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपालीमा अपिल गरेको छ । स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नलाई पदमुक्त गर्न अपिल गर्दै बैठकले अनिवार्य छानबिन र कारवाहीको विषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
देशबाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई व्यवस्थितरुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने व्यवस्था मिलाउन बैठकले सरकारसमक्ष माग गरेको छ ।
यसैगरी धेरै ज्यालादारी श्रमिकमाझ अझै राहत नपुग्दा जीवन कष्टकर बनेको सरकारको ध्यानाकर्षण गराउँदै बैठकले बेरोजगार र शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीका लागि पनि तत्काल राहत घोषणा गर्न माग गरेको छ । रासस








