राहत वितरणका क्रममा झडप हुँदा २ जना घाइते

वैशाख ५, काठमाडौं । पर्सामा राहत वितरणका क्रममा झडप हुँदा दुई जना घाइते भएका छन् । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं ३ को झलमैया टोलमा राहत वितरणका क्रममा ढुंगा हानाहान हुँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय विनोद साह र चन्द्रिका साह रहेका छन् । विनोदको गर्धन र चन्द्रिकाको टाउकोमा चोट लागेको छ ।
राहत वितरणका क्रममा असन्तुष्ट मानिसहरुले लुकेर ढु्ंगा प्रहार गर्दा उनीहरुलाई चोट लागेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
स्थानीयका अनुसार , वडा नम्बर ३ झलमहीया गाउँमा लकडाउनका कारण समस्यामा परेका २ सय २५ परिवारको सूची सर्वदलीय समितिले तयार पारेको थियो । तर शुक्रबार सर्वदलीय टोलीले १ सय २५ परिवारको मात्रै नामावली लिएर शुक्रबार गाउँमा पुगेपछि त्यहि विषयलाई लिएर विवाद भइ झडप भएको हो ।








