फिल्म क्षेत्रका प्राविधिकलाई पल शाहको ५ लाख सहयोग, दीपकको टिमले कति दियो ?

चैत्र २१, काठमाडौं । अभिनेता तथा मोडल पल शाहले कोरोना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणका लागि सरकारले गरेको लकडाउनको मारमा परेका चलचित्र क्षेत्रका प्राविधिकहरुका लागि ५ लाख सहयोग गर्ने भएका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनाको प्रभावले आम मानिसको जनजीवनसँगै नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको उल्लेख गर्दै उनले ५ लाख सहयोगको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यसबारे जानकारी गराएका हुन् ।

‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवन सहज बनाउनको लागि व्यक्तिगत तर्फबाट ५ लाख आर्थिक सहयोगको घोषणा गर्दछु’, उनले लेखेका छन्– ‘मेरो यो सहयोग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपालले सहजिकरण गर्ने आशा गरेको छु ।’
त्यस्तै चलचित्र निर्देशक तथा हास्य कलाकार दीपकराज गिरीको टिमले पनि चलचित्र क्षेत्रका प्राविधिकका लागि नगद सहयोगको घोषणा गरेको छ ।
कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस् पोष्ट गर्दै प्राविधिकका लागि राहातको घोषणा गरेका हुन् । गिरीकै स्टाटस अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेता केदार घिमिरे लगायत उनका टिमका सबै सदस्यले पोष्ट गरेका छन् ।
उनीहरुले लेखेका छन्– ‘हामीलाई सुटिगंको समयमा भोक लाग्दा खाना खुवाउने, गर्मी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गह्रौँ लाइट उचाल्ने प्राविधिकहरुको लागि यो कठिन समय हो । सबै मिलेर केहि सहयोग गरौँ । हाम्रो तर्फबाट रू १ लाख १० हजार दिँदैछौँ ।’








