खैरहनी नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण

चैत्र २०, चितवन। चितवनको खैरहनी नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरेको छ। लकडाउनपछि दैनिक जीवन निर्वाह गर्न समस्या भएका परिवारलाई नगरपालिकाले राहत उपलब्ध गराएको हो।
लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारको तथ्याङ्क टोल विकास संस्थामार्फत संकलन गरिएको थियो। सोही आधारमा राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका १३ वटा वडाबाट २ हजार ८ सय ९९ घरपरिवारको तथ्याङ्क सङ्कलन भएको थियो।
सोही तथ्याङ्क अनुसार बिहीबार नगरपालिकाले प्रत्येक वडालाई र वडाले टोल विकास संस्थालाई राहत वितरणको जिम्मा दिएको हो। सामाजिक दुरी कायम राख्दै राहत वितरण कार्य व्यवस्थित बनाउन टोल विकासलाई जिम्मा दिइएको नगरपालिकाका प्रमुख लालमणी चौधरीले बताए।

राहत वितरणका लागि नगरपालिकाले मापदण्ड बनाएको थियो। ४ जना सम्मको परिवारलाई १० किलो चामल, १ किलो दाल,एक किलो नुन र एक लिटर तेल तथा ४ जना भन्दा माथिका परिवारलाई १५ किलो चामल,एक किलो दाल,एक किलो नुन र एक लिटर तेल दिने गरी मापदण्ड बनाएको हो।
सोही मापदण्ड अनुसार नगर भित्रका २ हजार ८ सय ९९ परिवारलाई नै राहत वितरण गरिएको नगर प्रमुख चौधरीले बताए। राहत वितरणलाई व्यवस्थित बनाउन नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक एवं खैरहनी १ का वडाध्यक्ष भूमि प्रसाद कडेंलको संयोजकत्वमा समिति गठन गरिएको थियो। खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार वडा नम्बर १ का दुई सय ६० घरधुरी, वडा नम्बर २ का दुई सय ६२ घरधुरी, वडा नम्बर ३ का दुई सय ४४ घरधुरी, वडा नम्बर ४ का एक सय ७९ घरधुरी,वडा नम्बर ५ का एक सय ८१ घरधुरी, वडा नम्बर ६ का दुई सय ४२ घरधुरीलाई राहत दिइएको छ।
त्यस्तै खैरहनी वडा नम्बर ७ का एक सय ६ घरधुरी, वडा नम्बर ८ का एक सय ९६ घरधुरी, वडा नम्बर ९ का एक सय ६६ घरधुरी, वडा नम्बर १० का ३ सय ८० घरधुरी,वडा नम्बर ११ का एक सय २१ घरधुरी, वडा नम्बर १२ का १ सय ७१ घरधुरी र वडा नम्बर १३ का ३ सय ९१ घरधुरीलाई राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।
कोरोना भाइरसको संक्रमण हुन नदिन नगरपालिकाले प्रत्येक वडामा किटनाशक विषादी छर्नुका साथै यसबाट बच्न जनचेतना फैलाउने जस्ता काम गरेको नगर प्रवक्ता रामशरण पाण्डेले बताए।








