नेपालमा थप एक जनामा कोरोना संक्रमण

वैशाख १, धनगढी। कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएको छ। लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो।   

टीकापुर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती महिलामा कोरोना संक्रमण देखिएको हो। यसअघि काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले गरेको र्‍यापिड टेष्टमा कोरोना संक्रमण नदेखिएपछि उनलाई क्वारेन्टाइनबाट १४ दिन पछि घर पठाइएको थियो।   

उनी वीरगञ्ज नाकामा चिया बेच्थिन्। उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए। उनीहरुलाई स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए। ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए। हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन्।   

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको  ५१ जनामध्ये ४४ जनाको चैत्र २५ मा काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले र्‍यापिड टेष्टकिटबाट परीक्षण गरेको थियो। रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो। त्यसपछि उनी भुरूवास्थित आफन्त कहाँ गएकी थिइन्। 

तर पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ। कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो। 

यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो। तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =