अस्ट्रेलियामा कोरोना भाइरसको खोपको परीक्षण

चैत्र २०, क्यान्बेरा। अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ। सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल)मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो। 

यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ। यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ। सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलका अनुसार कोरोना भाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने छ। यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी उनले दिए। 

उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोना भाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए। संक्रामक रोगको महामारी विरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोना भाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो। 

भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्यांकन गर्न लागेको छ। यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ।   

प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोना भाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो। ‘हामीले कोरोना भाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं,’ एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले बताए। 

विश्वभर कोरोना भाइरसका कारण ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १० लाख मानिस संक्रमित भएका छन्। (-रासस/एएनआई) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =