नेपालमा करिब १३ हजारको कोरोना परीक्षण हुँदा १६ जनामा पोजेटिभः स्वास्थ्य मन्त्रालय

वैशाख २, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ। मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर प्रविधिबाट ६ हजार २ सय ९९ जनाको र र्यापिड टेस्टबाट ६ हजार ६ सय ७ जनाको कोरोना परीक्षण गरिएको बताए।
उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए। यी जिल्लामा पनि छिट्टै कोरोना परीक्षण सुरु गरिने उनले जानकारी दिए। प्रवक्ता देवकोटाले भने, ‘परिक्षणको दायरा बढिरहेको छ। हामीले मुख्य गरी विदेशबाट आएकाहरूको परीक्षण आरडिटीबाट गर्ने निति लिएका छौं।’
सोमबार काठमाडौं कागेश्वरी मनोहरा-९ स्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। एकै परिवारका तीन जनामध्ये ८१ वर्षीया आमा र ५१ वर्षीय छोरामा कोरोना संक्रमण भएको पुष्टि मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमार्फत भएको थियो। उनीहरु चैत ४ गते बेलायतबाट नेपाल आएका थिए। नेपालमा चैत ९ गते भेटिएकी दोस्रो कोरोना संक्रमित युवती आएकै क्युआर ६५२ विमानमा उनीहरू नेपाल आएका थिए।

उनले अहिलेसम्म देशभर ५ हजार ७७१ जना क्वारेन्टाइनमा छन् भने ९९ जना आइसोलेसनमा रहेको जानकारी दिए। अहिलेसम्म नेपालमा १६ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ। संक्रमित मध्ये एक जना ठिक भएर घर फर्किएका छन् भने १५ जना अहिले विभिन्न अस्पतालमा उपचार रहेको प्रवक्ता देवकोटाले जानकारी गराए। अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, शुक्रराज अस्पताल टेकु, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २-२ जना उपचारत रहेका छन्।
विगतमा विदेशबाट आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको प्रवक्ता देवकोटाले बताएका थिए। मंगलबार भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु गरिएको उनले बताए। उनले भने, ‘सोमबार र मंगलबार भेटिएका सबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ। मुख्यगरी आरडिटी परीक्षणलाई विदेशबाट नेपाल आएका र उनीहरूको सम्पर्कमा रहेकाहरूको गरिने नीति लिएका छौं।’










