नेपालमा थप २ जनामा देखियो कोरोना संक्रमण, संक्रमितकाे संख्या १४ पुग्याे (अपडेट)

वैशाख १, काठमाडौं। कोरोना भाइरस संक्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सोको जानकारी दिए ।
मन्त्रालयका अनुसार रौतहटमा एक जना १९ वर्षिय युवामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका ती युवालाई अहिले अस्पताल ल्याउने तयारी भइरहेको छ ।
आजै बिहान कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन् ।

यो सँगै नेपालमा कोरोना सक्रमितको संख्या १४ पुगेको छ । जस मध्ये शुरुमै चीनबाट आएका युवा कोरोना निको भइसकेका छन् ।
सरकारले अहिलेसम्म ५२९१ को कोरोना परीक्षण गरिसकेको छ । गएको २४ घण्टामा ५१९ वटा परीक्षण गरेको छ । मन्त्रालयले र्यापिट र पिसिआरबाट कोरोना परीक्षण गर्ने गरेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म २५ जना रेड जोनमा थपिएका छन् । कोरोनाको परीक्षण र उपचारमा केही द्विविधा आएकोले कुन अस्पतालले कसरी काम गर्ने भनेर निर्देशिका समेत तयार पारेको प्रवक्ता देवकोटाले जानकारी गराएका छन् ।
मन्त्रालयले कोरोना पोजटिभ देखिएकासँग सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ शुरु भइसकेको जनाइरहेको छ ।










