६९ जिल्लामा पुग्याे र्यापिड टेष्ट, भेटिएनन् नयाँ संक्रमित

वैशाख ४, काठमाडौं । सरकारले ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व र डोल्पाबाहेक अन्य सबै जिल्लामा र्यापिड डागोनोस्टिक टेष्ट (आरडिटी) सुरु गरेको छ ।
आज (बिहीबार) को नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७७ जिल्लामा ती ८ जिल्ला बाहेक सबै जिल्लामा आरडीटि टेष्ट सुरु गरिएको जानकारी दिएका हुन् ।
बाँकी जिल्लामा पनि र्यापिड टेष्टको तयारी थालिएको उनले बताए । प्रवक्ता देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट गएको २४ घण्टामा मात्रै ३ सय ६९ वटा परिक्षण भएको छ । योसँगै कुल परिक्षणको संख्या ७ हजार २ सय ४० पुगेको छ ।

त्यसैगरी र्यापिड टेस्टबाट अहिलेसम्म १२ हजार १ सय ९२ वटा परिक्षण भएका छन् । त्यसमध्ये गएको २४ घण्टामा ३ हजार २ सय ६३ वटा परिक्षण भएका छन् । यसरी कुल जम्मा १९ हजार ४ सय ३२ वटा परिक्षणहरु भएका छन् ।
विभिन्न जिल्लामा आरडिटी केही पोजिटिभ आएकाहरुको पीसिआर विधिबाट गरिएको परिक्षणमा नतिजा नेगेटिभ आएको पनि उनले जानकारी दिए ।
आजको दिनसम्म क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना छन् भने आइसोलेसनमा १०३ जना छन् । जसमा उपत्यकाभित्र ८ जना र बाहिर ९५ जना छन् ।
त्यस्तै स्वास्थ्य मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा गएको २४ घण्टामा २ हजार ८ सय ७९ वटा कलहरु आएका छन् । स्वास्थ्य मन्त्रालयकै मोबाइल एपमा आफ्नो स्वास्थ्यको स्वमूल्यांकन गर्नेको संख्या गएको २४ घण्टामा मात्रै ८ सय ४ रहेको छ जसमध्ये ६ जना रेड जोनमा छन् ।
आफ्नो स्वास्थ्य स्थिति इन्ट्री गराउनेको कुल संख्या १८ हजार ४ सय ३४ पुगेको छ भने कुल २ सय ४७ जना रेड जोनमा छन् । रेड जोनको अर्थ सम्भावित संक्रमित भन्ने बुझिन्छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ कार्य अगाडी बढाइसकिएको मन्त्रालयले जनाएको छ ।










