वीपी प्रतिष्ठानमा कोरोनाको आशंकामा संकलन गरिएका स्वाबमा कोरोना नेगेटिभ

चैत्र २७, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको नमुना परीक्षणबाट हालसम्म कसैलाई पनि कोरोना पोजेटिभ अर्थात संक्रमण नभएको पाइएको छ ।
प्रतिष्ठानले अहिलेसम्म गरेका स्वाब नमुना परीक्षणमा कुनैपनि शंकास्पद बिरामीमा कोरोना संक्रमण नदेखिएको हो । प्रतिष्ठानमा कोरोनाको आशंकामा आएका बिरामी तथा प्रदेश १ का विभिन्न अस्पतालहरुबाट संकलित स्वाबमा कोरोना संक्रमण नदेखिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।
प्रतिष्ठानमा प्रदेश १ का विभिन्न जिल्लाका शंकास्पद बिरामीको स्वाब नमुना परीक्षणका लागि लैजाने गरिएको छ । भने प्रतिष्ठान आफैंले हेल्थ डेक्स स्थापना गरेकोमा त्यहाँ कोरोना आशंकामा बिरामी आउने गरेका छन् ।

सह–प्रवक्ता डा. ऐरका अनुसार प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका शंकास्पद १२ जना बिरामीमध्ये ११ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । यता एक जनाको पनि उपचार भइरहेको छ ।
प्रतिष्ठानमा हालसम्म २ सय ३७ जनाको कोरोना प्रारम्भिक जाँच गरिएकोमा तीमध्ये १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अरुलाई जाँचपछि सामान्य अवस्था रहेको भन्दै घरमै क्वारेन्टाइनमा पठाइएको छ ।
कोरोना भएको आशंकामा प्रतिष्ठानमै पुगेका ४१ जनाको स्वाब नमुना संकलन परीक्षणमा २६ जनामा संक्रमण भेटिएको छैन । १५ जनाको रिपोर्ट आउन बाँकी छ ।
यता प्रदेशका विभिन्न जिल्लाबाट नमुना संकलन गरी ८३ जनाको स्वाब ल्याइएकामा ६५ जनाको परीक्षण रिपोर्ट आइसकेको छ । ती सबैमा संक्रमण देखिएको छैन । १८ जनाको भने रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानले जनाएको छ ।
१ नं. प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पताल र अन्य स्थानमा ४ सय ३८ आइसोलेसन वेड तयार पारिएको छ । भने, ४ हजार ३७ वटा वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । १ नं. प्रदेशमा हालसम्म ६ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । भने, भारतलगायत मुलुकबाट आएका झन्डै तीन हजार जना होम क्वारेन्टाइनमा बसिरहेका छन् ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भावित संक्रमितलाई राखेर उपचार गर्नका लागि आइसीयूसहितको ४४ वटा वेड तयारी अवस्थामा छ ।








