लकडाउनका कारण भोकै रहेका दलितवस्तीमा नेतृ चौधरीले दिइन् राहत, स्थानीय निकाय भने मौन

चैत्र १९, काठमाडौं । समाजसेवी महिला नेतृ भगवती चौधरीले दैनिक मजदुरी गरेर जिवनयापन गर्ने दलित वस्तीलाई खाद्यान्न राहत वितरण गरेकी छिन् । सुनसरीको गढी गाउँपालिका वडा नं. २ का ऋषिदेव दलितवस्तीका ज्यादा मजदुरी गरेर जिवनयापन गर्ने ५० घरपरिवारहरु कोरोना भाइरस लकडाउनका कारण भोकै रहेको थाहा पाएपछि नेतृ चौधरीले उनीहरुलाई खाद्यान्न तथा मास्क, सावुन सहयोग गरेकी हुन् ।   

मंगलबार नेतृ चौधरी दलितवस्तीमा पुगेरै उनीहरुलाई चामल, नुन, तेल, मास्क र साबुन वितरण गरेपछि दलितवस्तीलाई राहत भएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि मुलकलाई लकडाउन गरेसँगै स्थानीय तहबाट जनतालाई राहत वितरण गर्न भनेपनि गढि २ को दलितवस्तीमा अहिलेसम्म स्थानीय निकाय पुग्न सकेको छैन । उक्त दलितवस्तीमा स्थानीय निकायले पनि कुनै सहयाेग नगरेकाे भन्दै तारन्तार फाेन आएपछी नेतृ चौधरी राहत बोकेर पुगेकी हुन् । 

उनले त्यहाँ दैनिक ज्याला मजदुरी गरेर जिवनयापन गर्ने ५० घरपरिवारलाई दिनेश चौधरी स्मृति प्रतिष्ठान मार्फत राहत वितरण गरेकी छिन् ।  ‘स्थानीय तहले कोरोना प्रभावित जनतालाई राहत वितरण गर्ने भनेर राज्यले नै निर्देशन दिइरहेको अवस्थामा गढि–२ दलितवस्तीमा अहिलेसम्म स्थानीय निकायहरु आएका रहेनछन् । यो वस्तीका अधिकांश जनताहरु ज्यालामजदुरी गरेर जिवनयापन गर्ने गर्दछन् । राज्यले यस्तो बेलामा उनीहरुको बाँच्न पाउने अधिकारलाई संरक्षण गर्नुपर्दछ ।’ पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले भनिन् ।  नेतृ चाैधरी दिनेश चाैधरी स्मृति प्रतिष्ठानकी संरक्षक हुन् । 

नेतृ चौधरीले कोरोना भाइरसका कारण मुलुक नै लकडाउनको अवस्थामा स्थानीय जनताहरु घरभित्रै सुरक्षित रहनुपर्नेमा दुहवी, गढीका कतिपय गाउँघरमा कोरोना सचेतना अभावले समुह बनाएर घरबाहिर निस्कने, तास खेल्ने गरेको बताउँदै ती समुदायमा स्थानीय सरकारले सचेतना पनि दिनुपर्ने बताइन् । ‘यतिबेला स्थानीय सरकारले कोरोना सचेतना दिँदै राहत वितरण गर्नुपर्ने हो । तर, ‘यहाँ स्थानिय सरकार सर्वदलीय समिति बनाउनै ब्यस्त छ ।’ उनले भनिन् ।   

नेतृ चौधरीले दलितवस्तीमा राहत वितरण गर्दै स्थानीयलाई कोरोना भाइरसबाट कसरी बच्ने भनेर सामाजिक दुरी कायम गर्दै सचेतना पनि दिएकी थिइन् ।  दुई साता लामो कोरोना भाइरस लकडाउनले मुलुकको जनजिवन नराम्ररी प्रभावित भएको छ । खासगरी दैनिक ज्यालादारीमा जिवनयापन गर्ने समुदायहरुको दैनिकी अफ्टेरो भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *