वुद्ध जयन्तीलाई विश्व “ध्यान” दिवसका रुपमा किन नमनाउँने

  

दुई वर्षअघि वुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवसको रुपमा मनाउने चर्चाले निकै प्राथमिकता पाएको थियो । तर त्यो चर्चामै सिमित भयो । यो चर्चाका प्रस्तावक ओशो तपोवनका संरक्षक तथा ओशो सन्यासी अरुण आनन्द स्वामी हुनुहुन्छ । उहाँले दुई वर्षअघि वुद्ध जयन्तीको दिन अर्थात वैशाख पुर्णिमाको दिनलाई विश्व ध्यान दिवसको रुपमा मनाउन नेपाल सरकार समक्ष प्रस्ताव गरेर देशव्यापी अपिल गर्दै हिँड्नु भएको थियो ।   

२०७४ सालको वुद्ध पुर्णिमाको दिन लुम्विनीस्थित जीतवन ओशो आश्रममा यो पङतिकार समेत सहभागी हुने अवसर पाएको कार्यक्रममा स्वामी अरुणले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यु समक्ष सो प्रस्तावपत्र लगायत सात वुँदे सुझावहरु पेश गर्नु भएको थियो । देशको नाम पनि रहने, कुनै खर्च पनि नपर्ने, कम्युनिष्ट सरकारले आध्यात्मिक कामपनि गर्छ भनेर जस पाउने काममा  विद्धान र चतुर प्रधानमन्त्रीले किन ढिलाई गर्नु हुन्थ्यो र भन्ने थियो । तर, उहाँले त्यस दिन “तपाई सन्यासीहरुलाई जस्तो निर्णय लिन हामीलाई कहाँ त्यति सजिलो छ र ? हामी यस बारे छलफल गरौंला” भनेर हिँडेको दुई वर्ष भयो । छलफलको निष्कर्ष अहिले सम्म सुन्न पाईएको छैन । बरु देशमा शान्ति होईन कलह भित्र्याउने अमेरीकन एमसीसी परीयोजना चाहिँ रातारात भित्र्याउन सरकार र प्रतिपक्ष दल कम्मर कसेर लागेको देखिन्छ ।   

संयुक्त राष्ट्र संघमा प्रस्ताव लान नभ्याएको अवस्थामा पनि आफ्नो देश भित्र वुद्ध जयन्तीको दिनलाई ध्यान दिवसको रुपमा मनाउन संघीय, प्रादेशिक तथा स्थानिय निकायहरुमा निर्देशन जारी गर्न कस्ले रोक्न सक्थ्यो र ? बरु सोहि वर्ष संयुक्त राष्ट्र संघमा जम्वो प्रतिनिधी टोली लिएर जानु भएका प्रधानमन्त्रीले ‘विश्वमा शान्तिको आवश्यकता छ । नेपाल वुद्धको देश हो तर, हामी गरीब छौं हामीलाई धेरै (भिक्षा) आर्थिक सहयोग चाहिएको छ ।’ भन्दै रुवावासी गर्न चाहिँ छाड्नु भएन ।   

भारतका सन्यासी बाबा रामदेवले मार्च १९ लाई विश्व योग दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई भारत सरकारले एकै वर्षमा कार्यान्वयन गरी संयुक्त राष्ट्र संघमा प्रस्ताव पेश गरेको थियो । सो प्रस्तावलाई राष्ट्र संघको अत्याधिक सदस्य राष्ट्रले स्विकार गरेपछि आज विश्व भरी योग दिवस मनाउन थालिएको छ । भारतको शिर उच्च भएको छ । भारतका हरेक नागरीकलाई विश्वले योग गुरुको रुपमा पनि हेर्न थालेका छन । मजदुरको रुपमा जाने लाखौं भारतीयहरु आज विश्वका कुना–कुना गएर योग गुरु भएका छन ।     

विश्व ध्यान दिवसको आवश्यकता 

हिमालको काखमा रहेको नेपाल परापुर्वकाल देखि नै योगी तपस्वी साधकहरुको साधना स्थलको रुपमा रहि आएको छ । आत्मवोधको पथमा लागेका लाखौं साधकहरुलाई हिमालयले अनवरत रुपमा आश्रय र प्रेरणा दिई आएको छ । यहि क्षेत्रबाट विश्व भाईचारा वन्धुत्व सर्वहितकारी उपनिषद दर्शनको उत्पत्ति भयो ।  ध्यानका गहिरो साधक वुद्ध यहि देशमा जन्मिए । सारा संसारलाई ध्यान विधि र यसको उपादेयता बताए । तर, उनले दिएको दिक्षालाई हामी नेपालीले व्यवहारमा प्रयोग गर्नको साटो मुर्ति पुजा गरी एक दिन वुद्ध जयन्ती मनाएर औपचारीतामा मात्र सिमित पार्दै आएका छौं । ओशोले वुद्धलाई आध्यात्मिक विज्ञानका वैज्ञानिक भनेर मुक्त कण्ठले प्रसंशा गर्नु भएको छ । 

त्यति मात्र होईन उहाँले वुद्धले दिनु भएको प्रवचन मालालाई उपनिषदको रुपमा प्रष्ट पारेर आठौं खण्डमा विभाजित पुस्तक नै तयार पार्नु भएको छ । किनभने वुद्धले अन्य धर्मगुरुहरुले जस्तो ईश्वर र आत्माको वारेमा कहिल्यै बोल्नु भएन । जसरी वैज्ञानिकहरु ठोस आधार प्रमाण विना वोल्दैनन् त्यसैगरी वुद्धको कथामा कुनै मिथक कथा, पुराण निर्मित छैन । उनको जन्मस्थल, वोधीप्राप्त गरेको स्थान र महापरिनिर्वाण गरेको स्थानको बारेमा अब कुनै विवाद पनि छैन । वुद्धले शील समाधी र प्रज्ञाको सम्यक अभ्यासद्धारा सबै दुखःका कारणहरुबाट मुक्त पाउने एक अचुक आर्य मार्ग प्रस्तुत गर्नु भयो । आज विश्वमा शान्तिको जति आवश्यकता छ त्यति कहिल्यै थिएन । त्यसैले बुद्धका सन्देश आज झनै सान्दर्भिक देखिन गएको छ । 

आज मानिसले प्रविधीको चरम सुविधा भोगीरहे पनि आनन्दित र शान्ति भने छैन । राजनीति र आर्थिक प्रतिस्पर्धाको कारण हतियारको होडवाजी चलिरहेको छ । सृजना र मानवहितका लागी उपयोगी हुनुपर्ने विज्ञान आज असिमित विध्वंसको सम्भावना वोकेर अघि बढिरहेको छ । आफुले विकास गरेको विज्ञानले आज मानिसलार्ई सुखी बनाउनुको सट्टा तनाव, विषाद, अनिदोपन र युद्धको किनारमा ल्याएर छाडेको छ । जनसंख्या वृद्धी विष्फोटको संघारमा छ । जसको कारण प्रदुषण बढ्दो छ । प्रदुषणको कारण जलवायु परीवर्तन आजको मुख्य चुनौति बन्दै गएको छ । आज यसअघि कहिल्यै नदेखिएका सार्स, कोरोना भाईरस जस्ता किटाणुले महामारी फैलाई रहेको अवस्था छ । हरेक दिन कुनै न कुनै नयाँ समस्याबाट ग्रसित विश्वका मानिसहरुमा तनावकै कारण डिप्रेसन, माइग्रेन जस्ता रोगको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । एड्स, क्यान्सर जस्ता असाध्य रोगीहरुको संख्या दिनानुदिन बढि रहेको छ । विश्वका धनी राष्ट्रहरुले आफनो बजेटको एक तिहाई रकम स्वास्थ्यमा लगाउनु परेको छ । आजको युगमा शारीरीक भन्दापनि मानसिक रोगीले अझ विकराल रुप लिइरहेको छ । मानसिक रोग भनेको यस्तो अवस्था हो जतिखेर व्यक्तिमा चिन्ने, बुझ्ने र सिक्ने क्षमतामा ह्रास हुन्छ । यसबाट मानिसले व्यवहारमा भावनात्मक नियन्त्रण गर्न सक्ने क्षमता गुमाउँदछ । यसको असर मनोवैज्ञाननिक, जैविक विकासमा देखिन्छ जसले उसको सामाजिक व्यवसायिक जीवनलाई प्रतिकुल असर पार्दछ ।  

जटिल मनोरोगको निदान र उपचारको वर्गिकरण गरेर अमेरीकन साईक्याटिक एशोसिएसनले प्रकासित गरेको द डाईग्नोस्टिकल म्यानुअल अफ मेन्टल सिअर्डर (म्क्ः ) का अनुसार सन १९५२ मा जम्मा १०६ मासिक रोग देखिएका थिए भने अहिले करीब ३०० भन्दा बढि मानसिक रोगहरु देखिएका छन । विश्व स्वास्थ्य संगठनका अनुसार सन २०३० सम्ममा डिप्रेसन विश्वको सबैभन्दा भयावह रोगको रुपमा आउनेछ । ८० प्रतिशत शारिरीक रोग लाग्नुको मुख्य कारण पनि मानिसको मनै हुन्छ भनि डाक्टरहरु बताउँछन । कुनैपनि रोग साईको सोमेटिक हुन्छ । अर्थात शरीरको रोगको कारण मनमा र मनको रोगको छाप शरीरमा परीरहेको हुन्छ । २१ औं शताव्दी तनाव, हाईपरटेन्सन, हृदय रोग मधुमेह, अनिद्रोपन डिप्रेसन तथा अन्य सयौं किसिमका मनोरोगले गाँजिरहेको सताव्दीमा परीणत भएको छ ।   

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्छ । तर, वास्तविक संख्या आधिकारीक तथ्याक भन्दा धेरै बढि छ । अमेरीकामा पढ्ने एक हजार विद्यार्थीमा १९० देखि २४० विद्यार्थीहरुमा उपचार नै गर्नुपर्ने अनेक मनोरोगबाट ग्रसित छन । जसको कारण अमेरीकामा वर्षेनी पागल मनस्थितिका मानिसहरुले अन्धाधुन्ध गोली चलाएर सयौंको ज्यान लिने गरेको घटनाले स्वयम् अमेरीकन सरकार दिक्क भएको छ । अमेरीकामा नै करिब २० प्रतिशत महिला र १५ प्रतिशत पुरुषहरु वाल्यकालमै यौन शोषणको शिकार हुन्छन । मानसिक विमारी र असमान्य मानसिक व्यवहारले आज हाम्रो जीवनको हरेक भागलाई छोएको छ । यो मानसिक असन्तुलनका कारण घरेलु हिंसा, आतंकवाद, जुवातास  लागुऔषध सेवनदेखि आत्माहत्या सम्मका घटना देखिएको छ । यस्तो मनोरोगलाई दिर्घकालिन रुपमा रोक्नको लागी ध्यान नै एक मात्र अचुक अस्त्र हो ।  

आज योग र ध्यान भौगोलिक तथा धार्मिक सीमामा मात्र बाँधिने विषय रहेन । यो कुनै धर्म विशेषमा मात्र सम्वन्धित पनि हैन । यो मनलाई शान्त राख्न शरीरलाई शुद्धीकरण गर्ने एक वैज्ञानिक तथा प्राकृतिक विधी हो । मनका अनेक रोगको उपचार गर्ने विधि पनि ध्यान हो । त्यसैले आज ध्यानको लहर पनि विश्वव्यापी हुँदैछ ।  पुर्व र पश्चिमी मुलुकहरुको विश्वविद्यालयहरुमा यस विषयमा गहन खोज अनुसन्धानहरु भईरहेका छन । प्रतिवर्ष ५०० भन्दा बढि शोधपत्रहरु ध्यानको विषयमा प्रकाशित हुन्छन ।   

आधुनिक युगमा मनुष्य अनेक प्रकारका मानसिक रोगले पिडित छन । यो पिडाबाट छुट्कारा पाउने एउटै अचुक उपाय ध्यान हो भन्ने कुरामा डाक्टर मनोवैज्ञानिक तथा समाजशास्त्रीहरु एकमत छन । विश्वव्यापीरुपमा ध्यान प्रति अभिरुचि बढ्न थालेको छ । र, आजकल डाक्टरहरुले पनि प्रेस्कृप्सनमा योग र ध्यान गर्नु होस भन्न थालिसकेका छन । योग त व्यवसायिकरुपमा नै स्थापित भईसकेको आजको परीप्रेक्षमा अब ध्यानलाई पनि विश्वव्यापीकरण गर्न आवश्यक छ । सन २०१५ मा १ अर्व डलर पुगेको ध्यानको विश्वव्यापी वजारमा अहिले स्मार्टफोनहरुमा ध्यान गर्न सहयोग गर्ने १ हजार भन्दा वढि एप्सहरु उपलव्ध छन । त्यसैले विश्व ध्यान दिवस यो दिशामा फड्को मार्न एक कोशेढुंगा सावित हुनेछ ।   

ध्यान भनेको मन, मस्तिष्कलाई वर्तमानमा केन्द्रीत गराउने विधि हो । यसको अभ्यासले कुनै पनि विषयवस्तुमा केन्द्रीत हुने क्षमतामा वृद्धि गर्दछ । तनाव चिन्तालाई कम गराउँछ । मनमा स्पष्ट सोच्ने, मनन गर्ने पृष्ठभुमी तयार गर्छ र भावनात्मक वेचैनिलाई नियन्त्रण गर्छ । कुलत तथा आफैंलाई हानी गर्ने व्यवहारबाट मुक्त हुन सहयोग गर्छ । जीवनलाई सधैं  उच्च सृजनात्मक तथा प्रफुल्ल राख्ने कला सिकाउँछ । व्यवसायिक कार्यदक्षता बढाउँछ । आफैंलाई राम्ररी बुझ्न र स्विकार गर्ने क्षमताको वृद्धि गर्छ । परीवारका सदस्य तथा परीजनहरुसँग सौहार्दता बढाउने क्षमता दिन्छ । मनमा आनन्द, पे्रमको वृद्धि गराउँछ । जीवनको उद्देश्यलाई गहन रुपले बुझ्ने क्षमता प्रदान गर्छ । यो जीवन जगतसँग “वसुदेव कुटुम्वकम” सम्बन्धलाई उजागर गर्दै मानिसलाई अध्यात्मको उच्चतम शिखरसम्म पुर्याउन सक्छ ।   

वुद्ध पुर्णिमाको दिनलाई नेपालले बौद्ध राष्ट्रहरुको सहयोग लिई संयुक्त राष्ट्र संघमा विश्व ध्यान दिवस मनाउने प्रस्ताव लानसके विश्वकै लागी नेपालको ठुलो योगदान हुने छ । जुन प्रस्तावलाई विश्वका ५० करोड बौद्ध मार्गी र वुद्धलाई विष्ण्ुाको नवौं अवतार मान्ने एक अर्ब हिन्दुहरु गरी विश्व जनसंख्याका २० प्रतिशत मानिसहरुले सहर्ष स्विकार गर्नेछन । नेपालमा जन्मिएका वुद्धका लागी यो सबैभन्दा ठुलो सम्मान हुनेछ । र, यसले नेपालको एउटा आध्यात्मिक पहिचान र गरिमा विश्व सामु स्थापित गर्नेछ । धार्मिक पर्यटक तथा प्रकृति पर्यटन मार्फत हाम्रो पर्यटन उद्योग राष्ट्र विकासको मूल स्तम्भ हुन सक्छ ।   

आज विश्वका विकसित देशहरुमा ३ देखि ५ प्रतिशत व्यक्तिहरुले कुनै न कुनै ध्यानको अभ्यास गरी रहेकाछन । यसबाट के स्पष्ट हुन्छ भने मानिसलाई दैनिक जीवनमा ध्यानको आवश्यकता महशुष भईसकेको छ र यो ट्रेण्ड बढ्दो छ ।   

विश्वमा ध्यान दिवसको प्रस्तावनाको विषय यदि नेपालले सिघ्र पहल गरेन भने अरु कुनै देशले यो कार्यको श्रेय लिन सक्छ । त्यसैले नेपाल सरकार समक्ष हाम्रो अनुरोध छ कि यो पवित्र कार्य नेपालले चाँडोभन्दा चाँडो थालनी गरेर यसको जस लिन पछि पर्नु हुँदैन ।   

[email protected] 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *