गौरिका सिंहको बुवालाई कोरोना संक्रमणको पुष्टिः गौरिका भन्छिन्– ‘सरकारसँग रिसाएर हुँदैन, लकडाउनकाे पालना गर्नुस्’

तस्विरः गाैरिका सिंहकाे फेसबुक पेजबाट 

वैशाख ४, काठमाडौं । नेपाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिका सिंहको बुवालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।  

कान्तिपुर टिभीसँगको लाइभ कुराकानीका क्रममा गौरिकाको बुवा पारस सिंहले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । पारस हाल बेलायतको एक अस्पतालमा काम गर्छन् । त्यहाँ बिरामीहरुको उपचारका क्रममा संक्रमण भएको हुन सक्ने उनीहरुको आशंका छ ।  

पारसले भनेका छन्– ‘अहिले मेरो स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । अहिले दुई हप्ता कटिसकेको छ । ज्वरो आउन कम भएको छ । कमजोरी महशुस भएको छ, त्यति मात्रै हो । पहिले अलिकति सुख्खा खोकी चाहीँ लागेको थियो तर श्वास फेर्न गाह्रो भएन ।’ 

त्यस्तै गौरिकाको आमाले आफ्नो श्रीमान् अर्थात् पारसलाई कोरोनाको संक्रमण भएको भन्ने खबरपछि थोरै डर लागेको बताएकी छन् । ‘यो रोग नै यस्तै छ, डर त लागिहाल्छ । कतिपयलाई छिट्टै निको हुन्छ भने कतिपयलाई नराम्रो पनि हुन सक्छ । मेरो श्रीमान् डाक्टर हुनुहुन्छ, उहाँको अस्पतालमा कोरोनाका बिरामीहरु आउने ट्रिटमेन्ट सेन्टर हो’, उनले भनेकी छिन्– ‘उहाँलाई कोरोना नहोस् भन्ने त लागेको थियो तर पनि हुन सक्छ भन्ने आशंका त पहिले नै गरेका थियौँ । त्यसैले पहिले नै हामी मानसिक रुपमा प्रिपियर थियौँ ।’ 

केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै खेलाडी गौरिकाले आफ्नो बुवामा कोरोना संक्रमणको लक्षण देखिएको बताएकी थिइन् । उनले लेखेकी थिइन्– ‘नयाँ वर्ष २०७७ को शुभकामना। यो नयाँ वर्षको सुरुवात मात्र होइन, हाम्रो १४ दिने क्वारेन्टाइन अन्त्य भएको दिन पनि हो। दुई साता अघि एनएचएसका लागि काम गर्नुहुने मेरो चिकित्सक बुबालाई कोरोना भाइरसको लक्षण देखिएको थियो।यो १५ दिन निकै डरलाग्दो रह्यो। तर उहाँ अहिले ठिक भइसक्नु भएको छ। तर हजारौँ मानिसहरुसँग यति भाग्यमानी छैनन्। भित्र बसेर यो खतरनाक भाइरसबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ।’ 

गौरिकाले कान्तिपुरसँगको भिडियो संवादमा थप कुरा प्रष्ट पारेकी छिन् । भनेकी छिन्– ‘सरकारले लकडाउन गर्दा हामीलाई रिस उठ्छ, तर कोरोना संक्रमणबाट बच्न हामी घरैमा बस्नैपर्छ । हामीलाई नै सुरक्षित राख्नकै लागि हो सरकारले लकडाउन गरेको । सरकारसँग रिसाएर केही हुँदैन, सरकारले बनाएको होइन भाइरस । बरु घरैमा बसेर सरकारलाई धन्यवाद दिनुपर्छ । किनकी उसले हाम्रो स्वास्थ्यको रक्षा गरिरहेको छ ।’ 

गौरिकाले बेलायतमा त्यति कडाइ नगरेको उल्लेख गर्दै नेपाल सरकारले कोरोना रोकथामका लागि चालेको कदमले आफूलाई नेपालप्रति झनै गर्व लागेको बताइन् । उनले भनिन्– ‘मलाई नेपाल सरकारप्रति गर्व लागेको छ । र धेरै मानिसहरुले आफूमा कोरोना संक्रमण देखिएपनि लुकाउँछन् । उनीहरुलाई लाग्छ कि हेला गर्छन् । घरबाट निकाल्छन् । तर यो रोग लुकाउनु हुँदैन । संक्रमण परिवार लगायत अरुमा पनि फैलन सक्छ । उपचारमा ध्यान दिनुपर्छ, डाक्टरको सल्लाह लिनुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =