कोभिड-१९ मा सरकारको समन्वय र चेनअफ कमाण्ड भएनः राप्रपा

वैशाख ७, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध सरकारको भूमिका प्रभावकारी नभएको बताएको छ। कोरोना भाइरसको महामारी फैलिएको महिनौं भइसक्दा समेत स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षाका साधन अझै आपूर्ति गर्न नसक्नुले सरकारको भूमिका प्रस्ट्याएको राप्रपाको भनाइ छ।     

स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षाका साधन आपूर्तिमा तत्काल पहल गर्न आग्रह गरेको छ। कोरोना भाइरसको संकटको बेला अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्नेलाई अविलम्ब कारबाही गर्न राजपाले आज एक वक्तव्य जारी गर्दै माग गरेको छ। उसले कोरोनाका कारण अप्ठ्यारोमा परेका नागरिकलाई प्रदेश र स्थानीय तहसँगको सहयोगमा गन्तव्यमा पुर्‍याउन समेत अनुरोध गरेको छ।   

राप्रपाका तीन अध्यक्षले संयुक्तरुपमा जारी गरेको वक्तव्यमा कोरोना भाइरसको महामारीविरुद्ध सरकारको समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर रहेको उल्लेख छ। ‘लकडाउन घोषणा गर्नेबाहेक अन्य कतिपय क्षेत्रमा सरकारको कार्य प्रभावकारी हुन सकेको छैन। सरकारी काममा समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर रहेको छ,’ वक्तव्यमा भनिएको छ।   

तीन अध्यक्षले संयुक्त रुपमा जारी गरेको १२ बुँदे ध्यानाकर्षण वक्तव्य 

१) लकडाउन लगायतका सरकारी निर्णयहरू कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी छ । महामारीको अग्रिम पक्तिमा रहेर काम गर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारण माथि ज्यादती भएको देखिएको छ । यस्ता कार्य दोहोरिन नदिन राप्रपा सरकारसँग आग्रह गर्दछ । यो बेला बल प्रयोग होइन सरकारले सही सूचनाको प्रवाह र अभिभावकीय भूमिका निर्वाह गर्नु पर्छ । 

२) महामारी फैलिएको महिनौं भइसक्दा पनि स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसक्नुले सरकारको कार्यशैली प्रभावकारी नरहेको स्पष्ट हुन्छ । यसतर्फ सरकारले तत्काल ध्यान देओस् भन्ने राप्रपा आग्रह गर्दछ । यस्तो संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भए पनि अविलम्ब कारबाही गरिनु पर्दछ र कारबाही गरेको स्पष्ट देखिनुपर्छ । 

३) नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वैदेशिक रोजगार क्षेत्र अहिले गम्भीर संकटमा परेको छ । विश्वको विभिन्न मुलुकहरूमा कार्यरत नेपालीहरू अहिले एकातिर कोरोना भाइरसको जोखिममा रहेका छन् भने अर्कोतर्फ उनीहरूको रोजगारी समेत संकटमा परेको छ । यस वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपा देहाय बमोजिमका विषयहरूतर्फ नेपाल सरकारको ध्यान आकर्षित गर्दछः 

क) विभिन्न देशमा रहेका नेपालीहरूको स्वास्थ्य र सुरक्षा अवस्थाबारे जानकारी लिने तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्ने, 

ख) जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरूलाई विमान चार्टर गरेर भए पनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने, 

ग) कोरोना भाइरसको विश्वव्यापी महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव पार्ने निश्चित रहेको हुँदा त्यसबाट नेपालमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न अहिले देखि नै अल्पकालीन र मध्यकालीन रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तयार गर्ने, 

घ) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्थाबारे नियमितरुपले आमजनतालाई जानकारी गराउने 

४) महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहँदै नेपाल–भारत सिमाना सम्म आइपुगेका नेपाली नागरिकहरूलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राप्रपा सरकारसँग माग गर्दछ । 

५) कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्दछ । 

६) आफू बसेको ठाउँमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौँ किमी हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरूप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्य सम्म पुर्‍याउन राप्रपा सरकारसँग अनुरोध गर्दछ । 

७) कोरोना भाइरसको महामारीको परिणामस्वरूप नेपालको कृषि क्षेत्र पनि प्रभावित भएको छ । पशुपालन, कुखुरा पालन, माछा पालन, दुग्ध व्यवसाय लगायत कृषि सम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज कार्यान्वयन गर्न राप्रपा सरकारसँग माग गर्दछ । भविष्यमा खाद्य संकट आउन नदिन आवश्यक तयारी गर्ने । 

८) कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा गम्भीर मन्दी देखा पर्न थालिसकेको छ । नेपाल जस्तो अल्पविकसित र विकासोन्मुख राष्ट्रको आर्थिक स्थितिमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न प्रभावकारी आर्थिक नीति र योजनाको आवश्यकता पर्दछ । यसबारे पछि सोचौँला भन्ने मानसिकताबाट मुक्त भई अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्य योजना तयार गर्न राप्रपा सरकारसँग आग्रह गर्दछ। साथै, मजदुर, रोजगारदाता, उद्योग वाणिज्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई सहुलियत र सुविधा उपलब्ध गराइनु पर्दछ । समयमा त्यसबारे ध्यान नदिने र पछि महामारीलाई दोष दिएर पन्छन मिल्दैन । 

९) कोरोना भाइरसको प्रकोपले विश्वका सबै धनी र गरिब राष्ट्रहरूको अर्थतन्त्रमा गम्भीर र नकारात्मक असर पारेको छ। त्यसमा पनि नेपाल जस्तो अल्पविकसित देशलाई झन् ठूलो असर पारेको छ। यस परिप्रेक्ष्य नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय र फोरमहरूमा निम्न बमोजिमका दुई प्रस्ताव पेस गर्न राप्रपा सुझाव दिन्छः 

(क) अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूले लिएको ऋणमा आगामी दुई वर्षसम्मको लागि व्याज मिनाहा गरिनु पर्दछ । 

(ख) नेपाल जस्तो अल्पविकसित राष्ट्रहरूले तिर्नु पर्ने कुल ऋणको कम्तीमा ५० प्रतिशत मिनाहा गरिनु पर्दछ । 

१०) विश्व इतिहासमा नै अत्यन्त त्रासदीपूर्ण रहेको यो महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो भन्नेमा कुनै विवाद छैन । यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ । समस्याको संवेदनशीलता र गम्भीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरी सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ । केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुनेछ। 

११) वर्तमान सङ्कटको घडीमा सामाजिक सांस्कृतिक सदभाव खलबलाएर निहित स्वार्थपूर्ति गर्न चाहने प्रवृत्ति देखा पर्न सक्दछ। यो भाइरसको खतरा कुनै धर्म,जाती, समुदाय र देश विरुद्ध केन्द्रित छैन । यो सम्पूर्ण मानव जाती माथि आइलागेको संकट हो । त्यसर्थ परस्पर सदभाव र एकता कायम राखी कोरोना भाइरसको संक्रमणलाई पराजित गर्न राप्रपा आमजनतामा आह्वान गर्दछ । 

१२) कोरोना भाइरसको महामारी नियन्त्रण गर्न तथा विपन्न वर्गलाई सहयोग गर्न राप्रपाका विभिन्न इकाईहरूले हालसम्म गर्दै आएको कार्यको सराहना गर्दै यो कार्य निरन्तर जारी राख्न तथा सबै तहका सरकारले चालेका कार्यहरूमा सहयोग पुर्‍याउन पार्टीका सबै निकाय र कार्यकर्ताहरूमा हामी आह्वान गर्दछौँ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *