आलोचना नसहने नेता, लम्पसार पर्ने कार्यकर्ता पार्टी र देशका लागि घातक

पार्टी र जनताको भलो चाहने असल कार्यकर्ताले जहिलेपनि पार्टी राम्रो बनोस जनताको जिम्मेवारी लेओस र आलोचनासँग डराओस भन्ने चाहन्छ ।  तर, अर्कोथरि कार्यकर्ता आफ्नो क्षमतामा विस्वास गर्दैन, चाकडी चाप्लुसी र नेताको अघिपछिमा मात्र भविष्य देख्छ अनि कार्यकर्ता नेताले जनता राष्ट्र र पार्टीप्रति जति गद्दार गरेपनि ठिक–ठिक भनेर सुर्याउने अझ जनविरोधी काम गर्न प्रेरित गर्ने गरिरहेका हुन्छन । कतिपय नेताहरु पनि त्यस्तै जनताबाट विस्तापित, क्षमताहिन, भ्रष्ट र गनाएका आफ्नो भजन गाउने कार्यकर्तालाई मात्र मन पराउने र त्यस्तैलाई काखी च्यापेर हिँड्ने गरिरहेका देखिन्छन । 

कमल पाठक 

यस्तो प्रवृतिमा केही समय त्यस्ता नेता र कार्यकर्तालाई रमाइलो लाग्ला । आफ्नो एकछत्र विजय भएको जस्तो अनुभूति पनि होला तर ती सब क्षणिक मात्र हुन । देश र जनताको भविष्य खोज्ने हो भने पार्टी र जनताप्रति ईमान्दार रहने नेताले गरेका असल र राम्रा काममा सहयोग गर्ने, जनविरोधी क्रियाकलापमा खुलेरै नेताको सुधारात्मक आलोचना गर्ने, आफु र नेतालाई असल बाटोमा हिँडाउन सहयोग गर्ने कार्यकर्ता नै असल कार्यकर्ता हो । त्यस्तो कार्यकर्ताले मात्र पार्टीलाई जीबन्त राख्न सक्छ । 

Image may contain: 1 person, sitting, sunglasses, outdoor and nature

हाम्रो चरित्रको कारण आज त्यस्तो पार्टी यो हालतमा पुगेको छ प्रत्येक नेताले गर्ने प्रत्येक काम आलोचना मुक्त छैन रपनि त्यो आलोचनासँग कोहि होसियार भएको डराएको देखिदैन ।  नेता साँढे जस्ता देखिन्छन् । नेताले जस्तो सुकै जनबिरोधी भष्ट र पार्टी नीति भन्दा बाहिरको काम गरे पनि सधैं ढाक छोप गर्ने, आफ्नो अयोग्य तर्क जबरजस्त बेथिति छोप्न लगाउने र नेतालाई सुधार्नै नखोज्ने प्रवृत्ति हामी कार्यकर्तामा देखिँदै आएको छ । कार्यकर्ताको यस्तो प्रवृत्तिले नेताहरुको दुर्गुणलाई प्रश्रय दिएको छ भने गुणलाई लुकाईदिएको छ । 

कार्यकर्ता हुनुको नाताले एकदुई पटक नेताबाट बदनियत नराखि गरेको काममा त्रृटि हुन गए त्यसको बचाउ गर्ने हो, तर काँधै थापेर अन्धभक्ति देखाउनु किमार्थ उचित हैन । राम्रो गर्दागर्दै विरोधिहरुको अनावश्यक आरोप र प्रहारमा नेता र पार्टीको रक्षाकवच बन्ने काम कार्यकर्ताको हो । तर नेताहरु लगातार जनविरोधी गतिविधिमा लागि रहने कार्यकर्ता सधैं समाजमा आफ्नो हैसियत नै समाप्त पारेर गलत कुरालाई सहि भनी रहने परम्पराले हाम्रो समाज र राष्ट्रलाई नै असर पर्दछ । कार्यकर्ताहरुको यस्तो प्रवृत्ति बाहिरबाट हेर्दा पार्टी र नेता बचाउन लागेको छ भन्ने देखिएपनि अन्ततोगत्वा त्यो प्रवृत्ति पार्टीलाई आर्यघाटमा पुर्याउने सोच र दृष्टिकोण हो ।   

अहिले केही नेताहरुले प्राप्त गरेको हैसियत हाम्रो पुर्खौली सम्पत्ति हो हामी सधैं यहि अवस्था मै रहन्छौं भन्ने ठानिरहेका छन् । नेताहरुको यहि चिन्तन र सोच नै पार्टी, जनता र देशप्रतिको धोका हो । तुलनात्मक रुपमा अवसर नपाउँदासम्म केही नेता कार्यकर्ता असल जस्तापनि देखिन्छन तर, अवसरले नै तिनीहरुको परीक्षा लिई हाल्छ ।   

पार्टीमा संलग्न कुनैपनि खराब चरित्र पार्टी प्रतिको गद्दारी हो । आज पद र प्रतिष्ठाको लोभमा झुण्ड र गुटमा लाग्नेहरुले पद प्राप्त गरे पछि  देश र जनतालाई धोका दिई रहेका छन् । यस्ता नेता बनाउन हामी जस्ता गद्दार क्षमताहिन कार्यकर्ताको पनि हात छ । कार्यकर्ता नेताको असली सारथि हो, आफु पनि सहिबाटोमा हिँड्ने सोही बाटोमा हिँड्न नेतालाई पनि दबाब दिने उसको चरित्र हुनुपर्दछ ।   

आफु र आसेपासेलाई अनुचित लाभ दिलाउन उत्प्रेरित गर्ने नेताले मुल नेतृत्वलाई धोका दिएर अनुचित र भ्रष्ट मार्गमा हिँड्न रुचाउने हो भने हामी कसैको पनि भबिष्य पार्टीमा छैन । एउटा कुरा अझ प्रष्ट के हो भने भर्खरका कार्यकर्ता जसले आफ्नो भविष्य राजनीतिमा होमेको छ, आफु असल चरित्रको छैन नेतालाई असल बाटोमा हिँड्नै दिँदैन र गुटमा मात्र हिँडाउछ र नेतापनि त्यहि प्रवृत्तिमा रमाउँछ भने त्यो पार्टी समेत जनताका नजरमा टिक्दैन ।   

नेता जनताले माया गर्ने असल चरित्रको चाहिन्छ । दुई चार जना आफ्नो आसेपासे र भजन मण्डलीले भजन गाउँदा रमाउने नेताहरुले जनताको कुरा सुन्न सक्दैनन् । जनताले आफुलाई कसरी हेरेका छन् मापन गर्न नसक्ने नेताले देशको विकास र भविष्य उज्वल बनाउन सक्दैन । आलोचना सहन नसक्ने नेता र लम्पसार पर्ने कार्यकर्ता पार्टी र देशका लागि घातक हुन । 

जस्तो सुकै आचरणहिन काम गरेपनि हाम्रो नेता ठिक हुनुहुन्छ भनेर बेठिक कामको समर्थनमा कार्यकर्ताले ल्याप्चे लगाउनु भनेको पार्टी र देशप्रतिको गद्दारी हो । कार्यकर्ताले मात्र पार्टी बाँच्ने र सत्तामा पुग्ने होइन त्यसको लागि जनता चाहिन्छ । नेता र कार्यकर्ताले जनता प्रति बढि जबाफदेहि भएर पारदर्शि र असल नियतले काम गर्यौं भने नेता कार्यकर्ता देश र जनता सबैको भलो हुन्छ । त्यसकारण स्वार्थको रागमा राजनीति नगरौं । देश र जनताप्रति वफादार भएर संमृद्ध मुलुक निर्माणमा लागौं ।   

पाठक नेपाल बार एशोसिएशन चितवनका अध्यक्ष तथा नेकपाका युवा नेता हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *