अस्ट्रेलियामा कोरोना भाइरसको खोपको परीक्षण शुरु, आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने

फाइल तस्विर 

चैत्र २०, क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ ।  

सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो ।  

वैज्ञानिकहरू कोरोना भाइरसको खोप ...

यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ ।  

सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोनाभाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिए ।  

उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोनाभाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए ।  

संक्रामक रोगको महामारी विरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोनाभाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो ।  

भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्यांकन गर्न लागेको छ । यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ ।  

प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोनाभाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो । ‘हामीले कोरोना भाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं,’ एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले बताए ।  

विश्वभर कोरोनाभाइरसका कारण ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १० लाख मानिस संक्रमित भएका छन् । –एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *