कोरोनाको उच्च जोखिममा भारतसँग जोडिएका सीमा क्षेत्रः सतर्कता बढाउँदै प्रहरी र जनप्रतिनिधि

चैत्र २९, भैरहवा। विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरस (कोभिड-१९) संक्रमणको फैलिन नदिन नेपाल भारत सीमाक्षेत्रमा उच्च सतर्कता उपनाइएको छ। भारतीय कोल्हुईमा कोरोनाको संक्रमण देखिएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।   

कोल्हुई नेपालको रुपन्देही जिल्लाको दक्षिणी सीमा क्षेत्र मर्चवारनजि पर्छ। सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय तहहरुले समेत निगरानी बढाएका छन्। रुपन्देही प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले नेपालको सीमा क्षेत्र नजिक भारतीय भूमिमा कोरोनाको संक्रमण देखिएकाले थप सजकता अपनाईएको बताए। उनले एक जवानले अर्को जवानलाई देख्न सक्ने गरी सीमामा प्रहरी र शसस्त्र प्रहरी खटाईएको बताए। 

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय सीमा नाकामा आवगमन तथा उडानमा रोक लगाएको छ। देशभित्र पनि लकडाउन गरिएको छ। भारतसँगको खुल्ला सीमाका कारण जोखिम बढ्न सक्ने निष्कर्ससहित सुरक्षा सतर्कता बढाएको छ। सीमा क्षेत्रबाट कोही पनि व्यक्तिलाई नेपाल प्रवेशमा रोक्नका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 

मर्चवार क्षेत्रबाट ५ किलोमिटर क्षेत्रभित्रै भारतीय क्षेत्र कोल्हुई र त्यस आसपासमा कोरोना संक्रमण देखिएको छ। अहिले त्यस क्षेत्रका भारतीयहरु नेपालमा आफन्तकहाँ आउने सम्भावना बढेको छ। सीमा क्षेत्रमा हुने दोहोरो आवागमन रोक्न प्रहरीसँगै स्थानीय तहले पनि अहिले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। 

भारतसँग जोडिएका साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले पनि शनिबारदेखि जिल्लामा ८० जना थप जनशक्ति परिचालन गरेको छ। सीमा क्षेत्रमै बेस बनाएर यी शसस्त्र प्रहरीले निगरानी गरिरहेका छन्। 

प्रवक्ता खत्रीले कपिलवस्तुदेखि नवलपरासीसम्म ६० किलोमिटरको दूरीमा ५८ वटा स्थानमा पिकेट तथा मोबाइल गस्तीबाट निगरानी गरिएको जानकारी दिए। सशस्त्र प्रहरी रहेको ५२ वटा स्थानमा ६ वटा गाडी मोबाइलबाट गस्ती गरिएको उनले बताए। ‘सीमा नाकामा रहेका ६ वटा युनिटलाई बढाएर १० वटा फरवार्ड बेसको रुपमा स्थापित गरेका छौं,’ उनले भने।   

लकडाउनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न तथा सीमा क्षेत्रमा कुनै पनि आवतजावत हुन नदिन निगरानी बढाइएको उनले बताए। एक देशका नागरिकको आवागमन अर्को देशमा हुन नदिन स्थानीय नागरिक पनि सचेत रहेको पाइएको उनको भनाइ छ। लकडाउनको कार्यान्वयन र सीमा क्षेत्रको अवलोकनका लागि प्रहरी २४ घण्डा खटिएको प्रहरी प्रवक्ता खत्रीले बताए।   

भारतबाट आउने आफन्तलाई तत्कालका लागि घर अथवा गाउँमा प्रवेश नदिने र यदि कसैले प्रवेश दिएको खण्डमा त्यस्तालाई क्वारेन्टाईनमा राखिने तथा अन्य कारबाही पनि गर्ने रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए। 

सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले पनि सीमा क्षेत्रमा लकडाउनको सचेतनासँगै भारतबाट आउने ब्यक्तिहरु बारे पनि जागरुक गराउन स्थानीय तह लागिपरेको बताए। उनले सबैभन्दा बढी जोखिममा मर्चवार क्षेत्र नै रहेका कारण यस क्षेत्रका जनता अझै बढी सतर्क हुनुपर्ने औंल्याए। सशस्त्र र नेपाल प्रहरी दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती लगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *