वीपी प्रतिष्ठानमा सय वेडको काेराेना आइसोलेसन उपचार केन्द्र बन्दै, १३ गतेदेखि अनलाइनबाटै सबै सेवा लिन सकिने
बैशाख ५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई कोरोना विशेष अस्पताल बनाउने गृहकार्य अन्तरगत एक सय वेड सहितको आइसोलेसन कोरोना उपचार केन्द्र निर्माण थालिएको छ । प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई कोरोना विशेष सेन्टर बनाउने तयारी स्वरुप एक सय आइसोलेसन वेड सहितको उपचार केन्द्र निर्माण थालेका हुन् ।
वीपी प्रतिष्ठान हाताभित्रै रहेको पुर्नस्थापना केन्द्रलाई कोरोना उपचार केन्द्र निर्माण गर्न धमाधम काम भइरहेको उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले जनाए । ‘अहिलेको कोरोना संक्रमणबाट कसरी जनतालाई बढिभन्दा बढि सेवा दिने भन्ने विषयमा मेरो ध्यान केन्द्रित भएको छ । सोहि सिलसिलामा पुर्नस्थापना केन्द्रको संरचनालाई कोभिड–१९ उपचार केन्द्र बनाउने काम भइरहेको छ ।’ डा. गिरीले मकालु खबरसँग भने । उनका अनुसार उक्त सय वेडमा १० भन्दा बढि आइसियू वेड पनि रहने छन् ।
‘पुर्नस्थापना केन्द्रमा राखिएका फिजियोथेरापीका सामानहरु स्थानान्तरण गर्नेका भइरहेका छन् । कोरोना अस्पतालको डिजाइन पनि रेडी रहेको अवस्था छ । बैशाख १२ गतेभित्र कोभिड–१९ अस्पताल तयार भइसक्ने छ ।’ डा. गिरीले भने ।
प्रतिष्ठानले अनलाईन प्रविधिबाटै प्रतिष्ठानको विभिन्न सेवाहरु प्रवाह गर्ने तयारी पनि गरेको छ । खासगरी प्रतिष्ठानमा उपचारका लागि आउने विरामीलाई पुर्जी काट्न सहज बजाउन अनलाइन पुर्जी काट्ने, विल भुक्तानी गर्ने तथा प्रतिष्ठानले दिने रिपोर्टहरु पनि अनलाईन एपबाटै लिन सकिने ब्यवस्था गर्दैछ ।
‘प्रतिष्ठानमा उपचारका लागि आउने विरामीले पुर्जी काट्नकै लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कम गर्न, ल्याव रिपोर्टहरु अनलाइन गर्न र विल भुक्तानी समेत अनलाइन मार्फत गराउने काम भइरहेको छ । एप्स धमाधम बन्दै छ ।’ डा. गिरीले बताए ।
प्रतिष्ठानका नवनियुक्त उपकुलपति हाल बेलुकी अबेरसम्म प्रतिष्ठानमै रहेर प्रतिष्ठानको स्तरोन्नतीमा लागि रहेका छन् । यसका लागि दैनिक रुपमा विभागीय प्रमुखहरुसँग छलफल गर्ने, कोरोना र्यापिड रेस्पोन्स टीमसँग निरन्तर समन्वय गर्ने कार्य गरिरहेका छन् ।
प्रतिष्ठानले आन्तरिक रुपमा विभागीय प्रमुखहरु र सम्बन्धित विषयमा बैठक गर्न अनलाइन प्रविधि मार्फत बैठक गर्ने तयारी पनि गरेको छ । भने, शैक्षिक कार्यक्रम पनि अब अनलाइन प्रविधिमा गर्न मिल्ने बनाइरहेको छ । यसका लागि प्रतिष्ठानले जुम प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम अवस्थामा पुर्याएको डा. गिरीले जानकारी दिए ।
वीपी प्रतिष्ठान एक नं. प्रदेशकै टर्सरी सेन्टर पनि हो । यहाँ गम्भिर तथा घातक रोगका विरामीपनि आउने गर्दछन् । दैनिक तीन हजार भन्दा बढि विरामीको उपचार हुने प्रतिष्ठानको सेवा सुविधा चुस्त दुरुस्त नभएको गुनासाहरु सुन्न परेकोले उपकुलपति डा. गिरीले प्रतिष्ठानबाट जनतालाई दिइने स्वास्थ्य सेवा सहज बनाउने सवालमा काम भइरहेको बताए ।
‘मलाई ठूलो चुनौति छ, र त्यो चुनौति, दायित्व पुरा गर्न रातदिन लागेर काम गर्दैछु । फ्याकल्टी, पदाधिकारी र कर्मचारीहरुले पनि साथ र समन्वय गरिरहनु भएको छ ।’ डा. गिरीले भने ।