डा.सुनिल शर्माद्वारा आफ्नो क्षेत्रका कोरोना प्रभावितका लागि ३० लाख सहयोग

चैत २७, मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुका लागि ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेका छन् ।  डा. शर्माले मोरङ क्षेत्र नं. ३ का कोरोना प्रभावितहरुका लागि उक्त रकम सहयोगस्वरुप प्रदान गरेका हुन् ।   

क्षेत्र नं.३ मा पर्ने बेलबारी, पथरी शनिश्चरे र सुन्दरहरैंचा नगरपालिका कार्यालयको राहत कोषमा जम्मा हुनेगरी डा.शर्माले उक्त रकम बिहिबार बेलबारीमा नगर प्रमुखहरुलाई हस्तान्तरण गरेका हुन् ।   

उनले बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गरे ।   

डा.शर्माले यो संकटका बेला कोरोना प्रभावित गरिब, दुःखीलाई राहत पुर्याउन उक्त सहयोग गरेको बताए ।  उनले भने,‘मेरो हजुरबुबाले पनि बिफरको महामारीका कारण ज्यान गुमाउनु पर्या, अहिले कोरोनाको महामारी र संकटका क्रममा यो क्षेत्रका गरिब दुःखीले अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सहयोग गरेका हुँ, यो रकम कुनैपनि राजनीतिक पूर्वाग्रहरहित हिसावले वास्तविक दुःखी गरिब कोरोना प्रभावितसम्म पुर्याईदिनुहोस् ।’ 

सुन्दरहरैचा नगर प्रमुख ढकाल र बेलबारीका नगर प्रमुख सुवेदीले धन मात्र नभइ मन ठुलो भएको व्यक्तिका रुपमा डा.शर्मालाई चिनाउँदै उनको सेवा भावको खुलेर प्रशंसा गरे । उनीहरुले यो राहत रकम नगरक्षेत्रका दुःखी गरिब र वास्तविक कोरोना प्रभावितसम्म पुर्याउने प्रतिवद्धता पनि जनाए ।   

डा.शर्मा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको तर्फबाट सो क्षेत्रमा चुनाव लडेका थिए । कम्यूनिष्टको लालकिल्ला मानिने सो क्षेत्रबाट ४० हजार ६ सय ७ मत प्राप्त गरेर पनि बाम गठबन्धनका उम्मेद्वार भानुभक्त ढकालसँग उनी पराजित भएका थिए । विजयी ढकाल अहिले स्वास्थ्य मन्त्री छन् ।   

मन्त्री ढकालले कोरोनाको महामारीका बेला स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको आरोप खेपिरहेका बेला उनीसँगै पराजित हुने डा.शर्माले चुनाव हारेको क्षेत्रका जनताका लागि सर्वाधिक राशिको सहयोग गरेका हुन् । डा.शर्माले चुनाव हारेर पनि सो क्षेत्रका जनतालाई निरन्तर सहयोग गर्दै आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *