नेपालमा कस्तो छ औषधि उपलब्धताको अवस्था ? यसो भन्छन् औषधि विभागका महानिर्देशक

वैशाख ४, काठमाडाैं । अहिले केही दिनदेखि हामीले व्यहोरिरहेको कोभिड १९ को उपचार र यसको तयारीको सन्दर्भमा औषधी लगायतका स्वास्थ्य सामग्रीको विषयमा उठेका विषयवस्तुहरुलाई थोरै प्रष्ट पार्ने कोशिस गर्न चाहन्छु । औषधि नेपालमा खास गरेर निजी क्षेत्र र सरकारी दुवै क्षेत्रले औषधिको उपलब्धता, स्वास्थ्य सामग्रीको उपलब्धता गर्ने कार्य गर्दछ ।
मैले औषधि व्यवस्था विभागको महानिर्देशक भएको नाताले सरकारी क्षेत्रबाट उपलब्ध हुने औषधि तथा सामग्रीहरु साथै निजी क्षेत्रबाट पनि वितरण हुने औषधि तथा सामग्रीहरुको अवस्था के छ भनेर नियमित रुपमा उत्पादकहरु, पैठारीकर्ताहरु एवम् दाताहरु समेतले नेपालमा, नेपाली बजारीकरण गरेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेका छौँ ।
उत्पादन, वितरण, अभावको अवस्थालाई अनुगमन गरेका छौँ । यसका लागि अलग्गै अनुगमन फर्महरु तयार पारेका छौँ । व्यवसायीहरुलाई अति आवश्यक जीवनरक्षक औषधिहरुको अवस्था के छ भनेर दैनिक र साप्ताहिक रुपमा त्यसको प्रतिवेदन विभागमा उपलब्ध गराउने किसिमले फर्महरु बनाएका छौँ ।

त्यसमा निरन्तर रुपमा व्यवसायीहरुले जानकारीहरु उपलब्ध गराउनु भएको छ । ती जानकारीहरुलाई हेरेर, प्राप्त सूचनाहरुलाई हेरेर कुन चाहीँ औषधिको अभाव कहाँ छ भन्ने कुरालाई पहिचान गरेर थप रणनीतिहरु तयार गर्ने र त्यसको उपलब्धतालाई सुनिश्चित गर्ने प्रयासमा हामी लागेका छौँ ।
यसमा निजी क्षेत्रका विभिन्न व्यवसायीहरु, उत्पादकहरु, साथै सरकारी निकायका सम्बन्धित पदाधिकारीहरु समेतको समन्वयमा औषधीको ढुवानी, यसको उत्पादन, बिक्री वितरणको अवस्थालाई सुचारु गर्नलाई पहल गरिरहेका छौँ । गुणस्तरको पनि परिक्षण भइरहेको छ ।
अहिले ह्याण्ड सेनिटाइजरको अभाव छ । यसको उपलब्धताका हामीले नेपालमै यसको उत्पादनको अनुमतिको व्यवस्था हामीले गरेका छौँ । जसअनुसार अहिले २० भन्दा बढी उद्योगहरुले यी उत्पादनहरु बजारमा ल्याएका छन् । त्यसको निश्चित स्तर पनि तय गरिएको छ ।
यसैबीच सरकारीतर्फ नेपाल सरकारले पनि त्यस्ता कतिपय औषधिहरु आवश्यकता हुन सक्ने र आवश्यकताको माग बढ्न गइ यसको उपलब्धता नहुने हो कि भन्ने अवस्थालाई समेत सोचेर १८९ वटा औषधिहरु खरिदको लागि प्रक्रिया अगाडी बढाइसकेका छौँ । त्यस्तै पीपीई सेट पनि कतिपय खरिद भइसकेको छ भने कतिपय उपलब्ध हुने क्रममा छ ।
(स्वास्थ्य मन्त्रालयको आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले राखेको जानकारीको सम्पादित अंश)










