कोरोना संक्रमित तीन भारतीयसँग सम्पर्कमा आएकाहरूको खोजीमा टोली परिचालन
चैत्र ३०, काठमाडौं। नेपालमा आठ हजार पाँच सय ५ जनामा कोरोना परीक्षण हुँदा १२ जनामा कोरोना भाइरस (कोभिड-१९) देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पीसीआर र र्यापिड किटबाट उपत्यका र उपत्यका बाहिर गरी देशभर आठ हजार पाँच सय ५ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो।
आइतबार वीरगञ्जको छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जना भारतीय नागरिकमा कोरोना देखिएको पुष्टि भएको हो। संक्रमित तीन जना ३७, ४४ र ५५ वर्षको उमेर रहेका छन्। एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ।
उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङसमेत सुरु गरिएको मन्त्रालयले जनाएको छ। कन्ट्याक्ट ट्रेसिङका लागि टोली परिचालन गरिसकेको डा. देवकोटाले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ भने विभिन्न जिल्लामा अहिलेसम्म र्यापिड किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण भएको छ।
अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १५ जना र उपत्यका बाहिर ७० जना गरेर ८५ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन्। उनका अनुसार १५ हजार ७० जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा परेका छन्। अहिलेसम्म २ सय ६ जना रेड जोनमा छन्। उनीहरूसँग मन्त्रालयले फोन मार्फत कोरोना संक्रमणबारे जानकारी लिइरहेको छ।
संक्रमितको सङ्ख्या बढेसँगै सरकारले संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण पालना गराउँदै क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा बढाउने रणनीति लिएको डा. देवकोटाले बताए। परीक्षणको दायरा बढाएसँगै संक्रमणको स्थिति पत्ता लग्ने र उनीहरूको उपचारको साथै भावी रणनीति तय गर्न सहज हुने उनको भनाइ थियो।