शारीरिक मानसिक खेल खेलेर घरमै बस्न आग्रह
वैशाख ३, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रसारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन्।
‘सञ्चार मध्यममा कोभिड–१९ का बिरामीको व्यक्तिगत विवरण (नाम) प्रकाशित हुन आएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको छ’, प्रवक्ता देवकोटाले भने, ‘बिरामीको यस्तो विवरण निजको अनुमति बिना प्रकाश र प्रसारण गर्न नपाइने भएकाले यसो नगर्नुहुन मन्त्रालय अनुरोध गर्दछ।’
प्रवक्ता देवकोटाले जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरिरहेको समेत प्रस्ट पारे। उनले भने, ‘जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफ्नो लाइभ र अन्य माध्यमबाट प्रसारण गर्ने नै छ।’
मन्त्रालयका अनुसार अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको छन्। पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो। गत चौबिस घण्टामा कुल २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ।
डा. देवकोटाले अहिलेसम्म देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए। यस्तै आइसोलेसनमा भने ११७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन्। देशभर रेडजोनमा भने १३ जना रहेको उनले जानकारी दिए। डा.देवकोटाका अनुसार देशका अधिकांश जिल्लामा र्यापिड टेस्ट सुरु भइसकेको छ भने १४ वटा जिल्लामा अझै सुरु हुन बाँकी छ।
मन्त्रालयले लकडाउनको अवधिभर घर भित्र बसेर सहयोग गर्न आग्रहसमेत गरेको छ। इमेल इन्टरनेटको माध्यमबाट गर्न सकिने कार्यालयका कामहरु पनि घरमै बसेर गर्न डा. देवकोटाले अनुरोध गरे। सांगीतिक क्रियाकलाप, घरभित्र खेल्न सकिने खेलहरू, लेख पढ, शारीरिक मानसिक स्वास्थ्यका लागि गरिने योग, ध्यान, व्यायाम लगायतका सिर्जनशील क्रियाकलाप गरेर लकडाउनको अवधिमा घरभित्रै बसेर स्वास्थ्य लाभ गर्न मन्त्रालयले अनुरोध गरेको छ।
साथै भर्चुअल माध्यमबाट पारिवारिक मेल मिलाप तथा आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसरको रूपमा यस समयलाई प्रयोग गर्नसमेत उनले आग्रह गरे।