‘डाक्टरले पनि ज्वरो र रुघाखोकीकै औषधि दिएर पठाउँथे’

वैशाख ४, धनगढी । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग भारतको मुम्बईमा एकै परिवारका आठ जना नेपाली लडिरहेका छन् ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्राका स्थायीबासी परिवारमा कोरोना भाइरसको संक्रमण भएपछि अहिले मुम्बईस्थित विभिन्न अस्पतालमा उपचाररत छन् । अस्पताल भर्ना भएको २० दिन पुगिसकेको छ ।
अहिले संक्रमित सबैको अवस्थामा सामान्य बन्दै गएको छ । अस्पतालको बेडमा कोरोना भाइरससँगको लडाईंमा विजयोन्मुख अवस्थामा रहेका संक्रमित परिवारका एक सदस्य हुन् विवश खड्का । उनीसँग हामीले कोरोना संक्रमण, त्यसपछिको अवस्थालगायतका विषयमा कुरा गरेका छौँ, यस्तो छ उनको भनाइः

हाम्रो परिवारमा माइलो दाई (मेघराज खड्का) लाई ज्वरो आउने खोकी र श्वासप्रश्वास सम्बन्धि समस्या थियो । उहाँलाई दम र श्वासप्रश्वास सम्बन्धि समस्या विगत सात वर्ष अघिदेखि नै थियोे । उहाँले दम र श्वासप्रश्वासको औषधि पनि खाइरहनु भएको थियोे ।
श्वासप्रश्वास र ज्वरो आएको बेला पनि उहाँको शरीरको तापक्रम सामान्य नै हुन्थ्यो । ज्वरो आउँदैन थियो । तरपनि हामीले परिवारले नै कोरोनाको संक्रमण बढिरहेको अवस्थामा शरीरको तापक्रम नाप्ने साधनलाई पनि प्रयोग गरिनै रहेका थियौँ ।
परिवारमा ज्वरो पनि आएको पाइएको थियो । यसै आधारमा स–परिवार कोरोनाबाट मुक्त छौं भन्ने थियो । तर कोरोना भाइरसको त्राससँगै केही समयपछि दाईलाई ज्वरो र रुघाखोकी सुरु भयो । कुनै दिन धेरै च्याप्ने र कुनै दिन सञ्चो हुनेक्रम सुरु भयो । यो प्रक्रिया निरन्तर दुई हप्तासम्म चल्यो ।
यतिबेलासम्म हामी थुप्रै निजी अस्पतालहरूमा पनि पुग्यौँ । जहाँ जाँदा पनि डाक्टरले ज्वरो रुघाखोकीको औषधि नै दिएर पठाउँथे । सुरूमा हामीले दाईलाई निजी अस्पताल सेफीमा भर्ना गर्यौं । तर अस्पतालले भर्ना गरेको २४ घण्टा नपुग्दै अस्पताल बन्द हुने जानकारी दियो । त्यसपछि बिरामी दाईलाई लिएर हामी जेठो दाई (चेतमान खड्का) को परिचयको आधारमा डल्भी अस्पताल पुग्यौँ ।
त्यो दिन दाईलाई ज्वरो पनि १०२ डिग्री पुगेको थियो । लक्षण हेरेर डल्भीले पनि कोरोनाको आशंकामा अन्यत्र पठाउने निर्णय गर्यो । त्यसपछि हामीले फेरि रिलायन्स हस्पिटलमा लिएर गयौँ त्यहाँ कोरोनाको परीक्षण भयो । दाईलाई जे नहोस् भन्ने हाम्रो चाहाना थियो त्यही भएर छोड्यो । अर्थात् रिपोर्टले दाईलाई कोरोना भाइरस पोजेटिभ भएको देखायो ।
त्यसपछि हामी डरायौँ । यसअघि तीन/चार वटा निजी अस्पतालमा पुग्दा भिडियो एक्सरे, छातीको एक्सरे, बीपी र ब्लड टेस्ट गराउँदा रिपोर्ट नेगेटिभ आउँथ्यो । हामी पनि कोरोनाबाट मुक्त छौँ र दाईको ज्वरो र रुघाखोकी नै हो भन्ने कुरामा ढुक्क हुन्थ्यौँ । तर, त्यसो हुन सकेन ।
दाईलाई कोरोना संक्रमण देखिएपछि परिवारका बाँकी १० जनाकै थ्रोट स्वाव परीक्षण भयो र सात जनाको रिपोर्ट पोजिटिभ आयो भने तीन जनाको रिपोर्ट नेगेटिभ आयो । परिवारका ११ जनामध्ये तीन जनाको नेगेटिभ र आठ जनाको रिपोर्ट पोजिटिभ आयो । त्यसमध्येको म पनि एक हुँ । कोरोनाको त्रासकाबीच आफूसहित परिवारमा नै संक्रमण फैलिएपछि हामी परिवारका सबै सदस्य डरायौँ ।
अन्तिममा नेपाली मितिअनुसार हाम्रो चैत्र महिनाको १४ गते यहाँका विभिन्न सरकारी अस्पतालमा भर्ना गरियो । माइलो दाई मात्रै बिरामी अवस्थामा अस्पताल भर्ना हुनुभयो भने हामी बाँकी सात जना सामान्य अवस्थामा नै अस्पताल भर्ना भयौँ ।
हामीहरुमध्ये कोही कस्तुरा सातरस्ता, कोही जाँजन, कोही बालठाक्रे अस्पताल जोग्गेश्वरी, कोही सेभन हिल्स अँधेरी र कोहीलाई यामसीयामसीआर हस्पिटलमा उपचार्थ राखिएको छ । हरेक अस्पतालको परीक्षण समय, रिपोर्टिङ समय, सेवा फरक–फरक छ । स्वाव टेस्ट, ब्लड टेस्ट र फिङ्गर टेस्ट ल्याबमा हुने ढिलो चाँडोले रिपोर्ट आउने समय फरक पर्छ ।
हामी अस्पताल भर्ना भएको पनि २० दिन बितिसक्यो । अहिलेसम्म चार पटक परीक्षण भएको छ । अहिलेसम्म रिपोर्ट पोजिटिभ नै आइरहेको छ । तर अहिले हामी सबैको स्वास्थ्यमा निकै सुधार आइसकेको छ । हामी सबै खतरामुक्त भइसकेका छौँ । अस्पतालले पनि हामीलाई यही भनेको छ । स्वस्थ जस्तै भइसकेका छौँ ।
उच्च मनोबल पनि एक उपचार
कोरोना भाइरस महामारीको रुपमा फैलिएको अवस्थामा आफूहरुमा पनि कोरोना पोजिटिभ भएपछि हामीमा एक खालको डरत्रास पैदा भएको थियो । एक्कासी देखा परेपछि मनमा डर उत्पन्न हुनुपनि स्वभाविक नै लाग्छ । तर, यति हुँदाहुँदै पनि हामीहरुले आफैलाई मजबुद बनायौँ ।
परिवारका सबैले मनलाई बलियो बनाउनुपर्छ र कोरोनासँग भिड्नुपर्छ भन्ने अठोट लियौँ । हाम्रो परिवार कोरोना संक्रमित भइसकेपछि त्यसबारे थाहा पाएका आफन्तहरुको हौसलाले पनि हाम्रो आत्माबल बलियो बनाउन मद्दत पुग्यो ।
हामी सबै मनोबल उच्च बनाएकै कारण त्यस्तो निराशाजनक अवस्थामा पुग्न पाएनौँ । हाम्रो एउटै लक्ष्य जसरी पनि कोरोनासंग लड्ने र जित्ने थियो र छ । हामीले ९० प्रतिशतसम्म कोरोनालाई जितिसकेका छौँ । आशा छ अबको पाँच/छ दिन भित्रमा कोरोना भाइरसलाई परास्त गर्नेछौं र अस्पतालबाट डिस्चार्ज हुनेछौँ।
मान्छेबाटै बचौँ
मलाई लाग्छ यो हरेक बिरामीको आ–आफ्नो विचार र अनुभवको कुरा होला । अहिलेको अवस्था भनेको मान्छेबाट मान्छेनै बच्नुपर्ने स्थिति हो । कोरोनाबाट बच्न आफ्नो छोराछोरीबाट आमाबुवा र आमाबुवाबाट छोराछोरीले बच्नुपर्ने स्थिति छ । भन्नुको अर्थ एक व्यक्तिबाट अर्को व्यक्तिले बच्नुपर्ने छ । कोरोना भाइरसको औषधि पत्ता नलागिसकेको अवस्थामा यसबाट बच्न सामाजिक दुरी कायम गर्नु नै अहिलेको एक मात्रै उपाय हो ।
नेपाल सरकारले पनि अहिले लकडाउन जारी गरेको छ । तर, सरकारले लकडाउन गर्न केही ढिलाई गरेको हो कि भन्ने मलाई लागेको छ । अझैपनि नेपाल र भारतबीचको खुला सीमा कोरोना संक्रमणका लागि ठूलो जोखिमको विषय छ ।
सीमा शिल गरेपनि लुकीचोरी पनि खुला सीमाको फाइदा उठाउँदै मानिसहरु सीमा वारपार गर्नसक्छन् । यदाकता समाचारहरुमा यस्ता विषय देखेको पनि छु । त्यसतर्फ नेपाल सरकारले ध्यान दिनुपर्छ । तसर्थ, अब सरकारले गरेको लकडाउनको सबैले पालना गरौं । घरमा जे छ त्यही खाउँ । समस्या परेका जनताको हेरविचार गर्ने काममा सरकारका निकायहरुले ध्यान दिनुपर्छ ।










