राहतमा हकुवा चामल दिएको स्थानीयकाे गुनासाे, राहत समिति भन्छ- ‘भ्रम नछराैँ’


चैत्र २७, चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा राहत वितरणको क्रममा हकुवा चामल वितरण गरिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।
वितरण गरिएको चामल हकुवा भएको राहत वितरण समितिका पदाधिकारीले पनि स्वीकार गरेका छन् । यसलाई गुणस्तरहीन मान्न उनीहरु तयार नै छैनन् ।
राहत समितिका सल्लाहकार बाबुराम परियार समितिले आफूलाई पनि जानकारी नदिइ मापदण्ड विपरितको राहत सामग्री वितरण गरेको बताउँछन् । राहतमा दिइएको चामलका विषयमा सर्वसाधारणबाट व्यापक गुनासो आइरहेको उनको भनाइ छ ।
‘सरकारले तोकेको मापदण्डलाई मिचेर वितरण गरियो ,पहिले सहमति भइसकेपनि पछि छुट्टै बसेर नयाँ मापदण्ड बनाएर राहत बाँडियो । मेरो यसमा असन्तुष्टी छ’, उनले भने ।
बैठकमा कम्तिमा पनि साबित्री चामल बाढ्नुपर्ने सहमति भएपनि पछि छुट्टै बसेर हकुवा चामल किनेर बाँडिएको उनले बताए ।
वडाध्यक्ष शम्भुबहादुर भन्डारीले समिति र प्रहरी बसेरै राहत सामग्रीको टुंगो लगाएको बताए । उनका अनुसार स्थानीय एक पसलबाट प्रतिकिलो ४७ रुपैयाँ ५० पैसामा चामल किनिएको हो ।
केही व्यक्तिले आफूले नपाएको रिसमा गुणस्तरहीन भएको प्रचार गरेको भन्दै उनले भ्रम नछर्न आग्रह गरे । उनले चामल पुरानो भएको बताए ।
राहत वितरण समितिमा रहेका विजय भुषालले समितिले हेरेर, खाएर चामल किनेको भन्दै गुणस्तरहीन भन्न नमिल्ने बताए । समितिले गुणस्तरहीन चामल दिएको भनेर आलोचना गर्नेलाई पदाधिकारीहरुले बोलाएर झपार्ने गरेको स्थानीय बताउँछन् ।
चामलको गुणस्तरको विषयमा व्यापक आलोचना भएपछि समितिका पदाधिकारीहरुले फेसबूक लाइभमार्फत् स्पष्टिकरण दिएका थिए । सो क्रममा उनीहरुले चामल हकुवा भएपनि गुणस्तरहीन नभएको दाबी गरे ।
कायाकैरनसँग सम्पर्कमा आएका कयौं स्थानीयले चामल हकुवा भएपनि बाहिर भन्न अप्ठ्यारो भएको भन्दै नाम नलेखिदिन आग्रह गरेका थिए ।
